काठमाडौं , १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले ३७ अर्व घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पार्नुभयो । निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पार्नुभयो । निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार नआए संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले निजी क्षेत्रले चलाउन सक्ने विमान नेपाल वायु सेवा निगमले चलाउन सक्दैन भनेर प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाउनुभयो । उहाँले सरकार निगमको साथमा रहेको तर निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको बताउदै विमानहरुलाई चुस्त राख्न पनि सचेत गराउनुभयो । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ । उहाँले विमान संचालनको स्पष्ट योजनाका साथ काम गर्न पनि निगम व्यवस्थापनलाई सचेत गराउनुभयो ।
प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्