काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।
यस्तै ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु
दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ । गए राति १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो ।
साथै सोही दुर्घटनामा परी सहचालक सोही ठाउँका १६ वर्षीय अनिल नेपाली घाइते भएका छन् । अनिलको बायाँ हातमा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
यता बस र ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु, ६ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन् । आज बिहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पुलस्थित बा३ख २०५४ नंको बस र ना५ख ७७९५ नंको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी छ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अबरुद्ध भएको राजमार्गलाई प्रहरीले खुलाएको छ ।
घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, त्यहीका प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे छन् । घाइतेको लालबन्दीका विभिन्न स्पातालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्