लन्डन, ९ साउन । बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो ।
बुधबार प्रधानमन्त्री पदको सपथ लिनुभएका जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषदमा रहनुभएका आधाभन्दा बढी मन्त्रीलाई हटाउनु भएको छ ।
उहाँले युरोपेली संघ (इयू) बाट बेलायत बाहिरिनु पर्छ भनेर अभियान चलाउने नेताहरूलाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिनुभएको छ । जोन्सनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना बेलायती नागरिक पनि रहेका छन् ।
प्रधानमन्त्री जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा मेको सरकारका गृहमन्त्री साजिद जावेदलाई अर्थमन्त्रीको जिम्मेवारी दिनुभएको छ । ब्रेक्जिटका कट्टर समर्थक डोमिनिक राबलाई जोन्समनले विदेशमन्त्री बनाउनु भएको छ ।
बेलायती महारानीसँग प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उहाँले भन्नुभयो – ब्रेक्जिटका विषयमा ‘तर र यदि’ जस्ता शब्दहरु अब लाग्दैनन् । हामी युरोपेली संघबाट बिदा हुन्छौं ।
प्रतिक्रिया दिनुहोस्