काठमाडौं, ११ साउन । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि दुई अर्ब ५० करोड अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको छ ।
सीमाको केही क्षेत्रमा पर्खाल बनाउनका लागि रक्षा मन्त्रालय पेन्टागनबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पले तयारी थालेका थिए । त्यसविरुद्ध परेको उजुरीमा सर्वोच्चले राष्ट्रपति ट्रम्पको पक्षमा फैसला गरेको हो । क्यालिफोर्नियाको संघीय अदालतले ट्रम्पले देशको दक्षिणी क्षेत्रमा सीमा पर्खाल बनाउनका लागि पेन्टागनको रकम खर्चिन नपाउने फैसला गरेको थियो ।
तर, सर्वोच्च अदालतले क्यालिफोर्निया अदालतको फैसलाको विपक्षमा आफ्नो निर्णय सुनाएको छ । सर्वोच्चमा ट्रम्पको पक्षमा पाँच तथा विपक्षमा चार मत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले सन् २०१६ मा चुनावी अभियानका क्रममा व्यक्त गरेको प्रमुख प्रतिबद्धतामा मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने वाचा गरेका थिए । तर, विपक्षी डेमोक्र्याटहरुले भने पर्खाल योजनाको विरोध गर्दै आएका छन् । विपक्षी बहुल कंग्रेसमा अवरोध भएपछि ट्रम्पले पेन्टागनको रकम पर्खाल निर्माणका लागि प्रयोग गर्ने घोषणा गरेका थिए ।
सर्वोच्चको फैसलासँगै अब पेन्टागनको दुई अर्ब ५० करोड अमेरिकी डलर क्यालिफोर्निया, एरिजोना र न्युमेक्सिकोमा सीमा पर्खाल बनाउनका लागि प्रयोग हुनेछ । ट्रम्पले सर्वोच्चको फैसलालाई आफ्नो ठूलो विजयका रुपमा परिभाषित गरेका छन् । ट्रम्पले अमेरिकाको सुरक्षाका लागि आप्रवासीको अवैध प्रवेशमा रोक लगाउनु पर्ने बताउँदै आएका छन् । उनी आप्रवासीप्रति सुरुदेखि नै कठोर छन् । अमेरिकामा हालै तत्काल डिपोर्ट गर्न मिल्ने नियम पनि लागु भएको छ । यस्तै शुक्रबार अमेरिका र ग्वाटेमालाबिच एक सम्झौतामा हस्ताक्षर भएको छ । जस अनुसार होण्डुरस तथा एल साल्भाडोरका आप्रवासीहरुले सीधै अमेरिका प्रवेशको साटो सुरुमा ग्वाटेमालामा आश्रयको खोजी गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्