काठमाडौं, १६ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको इज्जत र जनताको अपेक्षा पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गर्ने बताउनुभएको छ । शितल निवाशमा सपथलगत्तै सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि आयोजित स्वागत समारोहमा मन्त्री भट्टराईले भन्नुभयो, “तपाईहरुले मलाई काम लगाउनुहुनेछ, कस्तो काम गर्दा मुलुकको इज्जत बढ्छ, प्रधानमन्त्रीले र जनताले सोचेको अपेक्षा पूरा हुन्छ, के गर्दा चुनौतीमाथि सफलता हासिल हुन्छ, भोलिका दिनमा विषयगत हिसाबले छलफल गरेर जानेछु”
केही दिनभित्रैमा प्रधानमन्त्रीसमक्ष मन्त्रीको हिसाबले कामको करार सम्झौता गर्ने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, “हामी जे गर्न सक्छौँ, त्यो कुरा भन्छौँ, जे हुन सक्दैन, त्यो के कारणले भएन भनेर पारदर्शी ढङ्गले बताउने छौँ ।” निर्देशन कम हुने र सामूहिक निर्णयबाट अघि बढ्ने बताउँदै उहाँले प्रधानमन्त्रीले राखेको आशा र अपेक्षा पूरा गर्र्ने उल्लेख गर्नुभयो ।
कुनै पूर्वघोषित कार्यक्रम नभई परिस्थितिले आफू मन्त्री हुन आइपुगेको प्रष्ट्याउँदै उहाँले कसैलाई काम लगाउन होइन काम सिक्न आएको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनालाई समयमै सक्ने तथा सन् २०२० को नेपाल भ्रमण वर्ष साकार पार्ने मन्त्री भट्टराईले प्रतिबद्धता जनाउनुभयो ।
वाह ! नेपाल एयरलाइन्स भन्ने बनाउँछौंँ
नेपाल वायुसेवा निगममाथि टिप्पणी भइरहेको अवस्थामा त्यसको विश्वसनियतालाई माथि उठाउने प्रतिबद्धता जनाउँदै मन्त्री भट्टराईले भन्नुभयो, “वाह ! नेपाल एयरलाइन्स भन्ने बनाउने छौँ, त्यसका निम्ति छलफल अगाडि बढाउने छौँ ।” अन्य आन्तरिक विमानस्थलको सुदृढीकरण, विस्तार गरी निजी सहयोगी संस्थासँग हातेमालो गरेर अघि बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री भट्टराईले आफू सञ्चारजगत्सँग नभाग्ने प्रतिबद्धता जनाउनुभयो । सञ्चारजगत्बाट नभागी सँगसँगै अघि बढ्ने बताउँदै उहाँले आजको दिनमा मिडियाको भूमिका ठूलो रहेको उल्लेख गर्नुभयो । देश बनाउने अभियानमा सञ्चारमाध्यामको सहयोगी भूमिका रहने उल्लेख गर्दै भन्नुभयो, “हामी तपाईहरुको निगारनीमा छौँ, म अपेक्षा गर्दछु कि देश बनाउने दायित्व प्रधानमन्त्रीको, मन्त्रीको, मन्त्रालयका सचिव या कर्मचारीको मात्रै होइन हामी सबैको हो, सञ्चारकर्मीको पनि हो ।”व्यक्तिगत र गोप्य कुराबाहेक पत्रकारका निम्ति मन्त्रालय सधँै खुला रहेकोसमेत उहाँले बताउनुभयो । आजको दुनियाँ पारदर्शी र जवाफदेही रहेको, संविधानतः प्रधानमन्त्री र संसद्प्रति एकसाथ जवाफदेही रहेकाले हर काम सहभागितामूलक हुने उहाँको भनाइ थियो । मन्त्रालयका काममा केही चुनौती रहेको बताउँदै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाएरै छाड्ने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्