काठमाडौं, १० भदौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशको आर्थिक विकासको लागि सवारी साधन आवश्यक भए पनि मात्रा भने धेरै बढाउन नहुने बताउनु भएको छ ।
नाडा अटो शोको उदघाटन समारोहमा अर्थमन्त्रीले अरु क्षेत्र कमजोर हुने गरी गाडी आयात मात्रै गर्न नहुने बताउनुभयो । गएको १० वर्षमा अटो व्यापार बढेको भन्दै उहाँले तीव्र आर्थिक वृद्धिको अवस्थामा धेरै गाडी आयात फाइदाजनक नहुने बताउनुभयो । सबै गाडी आयात गरेर बेच्ने भन्दा पनि देशमै गाडी ‘एसेम्बल’ गर्न अर्थमन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गर्नुभयो । जुनसुकै देशमा पनि पहिला ‘एसेम्बलिङ’ हुने र पछि बल्ल गाडी कम्पनी नै खुल्ने गरेको भन्दै उहा“ले सरकारले यस्ता उद्योगलाई कर छुट दिने बताउनुभयो ।
उहाले तत्कालै पेट्रोल डिजेलबाट चल्ने गाडी विस्थापन गर्न नसकिने भए पनि विद्युतीय गाडीको उपयोग बढाउन आग्रह गर्नुभयो । सरकारले विद्युतीय गाडी आयातमा कर छुट दिएको तर केही ब्यापारीले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलले चल्ने गाडी ल्याएर करछुट माग्दै बदमासी गरेको मन्त्री खतिवडाले आरोप लगाउनुभयो । सडकको कारण गाडी चलाउन र बिक्री वितरणमा असर पुगेको स्वीकार गर्दै मन्त्री खतिवडाले काठमाण्डौमा मेलम्ची खानेपानीका सबै पाइप परीक्षण नगरेसम्म सडक चिल्ला हुन नसक्ने बताउनुभयो ।
काठमाण्डौको भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने नाडा अटो शोमा २३ वटा चारपांग्रे कम्पनीका स्टल, १९ वटा ब्रान्डका दुईपांग्रे गाडीका स्टल छन् । शोमा गाडी, पाटपूर्जा, ब्याट्री गरी ९५ कम्पनीका १६० स्टल छन् । शोको ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजक नाडाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्