काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट बाहिरिएको करिब दुई वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु आउने भएकी छन् । उनी अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने एक भर्चुअल कार्यक्रममा सहभागी हुँदै आफ्ना भविष्यका योजना र बंगलादेश फर्किने सम्भावनाबारे धारणा राख्ने कार्यक्रम छ ।
यो कार्यक्रम ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ले आयोजना गरेको हो । कार्यक्रम साँझ ६ बजेदेखि ७ः३० बजेसम्म नयाँ दिल्लीस्थित सर मार्क टली अडिटोरियम, मथुरा रोडमा हुनेछ । यसको प्रत्यक्ष प्रसारण क्लबका सामाजिक सञ्जालमार्फत पनि गरिनेछ ।
शेख हसिनाको करिब १६ वर्ष लामो शासन अन्त्य भएको दोस्रो वर्ष पुगेको सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको हो । सन् २०२४ को अगस्ट ५ मा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन देशव्यापी सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । आन्दोलन हिंसात्मक बन्दै गएपछि र प्रदर्शनकारीहरूले सरकारी भवनहरू कब्जा गर्न थालेपछि शेख हसिना बंगलादेश छाडेर भारत पुगेकी थिइन् ।
कार्यक्रममा शेख हसिनासँगै बंगलादेशका विभिन्न राजनीतिक नेता, पूर्वमन्त्री, कूटनीतिज्ञ र विश्लेषकहरू पनि सहभागी हुने बताइएको छ ।
सहभागी हुने व्यक्तिहरूमा उनका छोरा तथा बंगलादेशका पूर्वसूचना तथा सञ्चार प्रविधि सल्लाहकार सजिब वाजेद जोय, पूर्वशिक्षामन्त्री मोहिबुल हसन चौधरी नोफेल, बंगलादेश ह्युमन राइट्स वाचका महासचिव महम्मद अली सिद्दीकी, पूर्वक्रिकेटर तथा पूर्वसांसद शाकिब अल हसन, पूर्वकूटनीतिज्ञ तथा सुरक्षा विशेषज्ञ अमिनुल हक पोलाश, राजनीतिक तथा आतंकवादविरोधी विश्लेषक अबु ओबैधा आरिन तथा बंगलादेश ह्युमन राइट्स वाच यूएसएका निर्देशक शाह मोहम्मद बख्तियार रहेका छन् ।
शेख हसिना सत्ताबाट बाहिरिएपछि बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको छ । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारको कार्यकाल फेब्रुअरी २०२६ मा सम्पन्न आम निर्वाचनपछि समाप्त भएको थियो । त्यसपछि बीएनपीको नेतृत्वमा सरकार गठन भएको छ । तारिक रहमान प्रधानमन्त्री बनेका छन् । टाइम्सअफ इन्डिया
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्