महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका–९, डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मङ्गलबार बिहान करिब ७ः३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको हो।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी ४० वर्षीय विजय भुजेल, गौशाला–११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, गौशाला–९ का १३ वर्षीय उमर शेख र गौशाला–११ का ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको खुट्टा, नाक र कम्मरमा चोट लागेको छ। चालक विजय भुजेल र उमर शेखलाई थप उपचारका लागि गौशालास्थित बीके अस्पताल पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्