काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण (Deposit Collection Instrument) बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार ३१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणका लागि आज बोलकबोल आह्वान गरिएको हो। सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत मात्र बोलपत्र पेश गर्नुपर्नेछ।
बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप सङ्कलन गरिनेछ। स्वीकृत निक्षेपको साँवा र ब्याज भदौ २२ गते एकमुष्ट भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
सूचनाअनुसार बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँका गुणक (Multiples) मा कुल आह्वान गरिएको रकमको सीमाभित्र रहेर आवेदन दिन सकिनेछ।
राष्ट्र बैंकले रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलपत्रलाई पहिलो प्राथमिकता दिनेछ। समान ब्याजदरमा कुल आह्वान गरिएको रकमभन्दा बढी माग परेमा प्रो–राटा (Pro-rata) आधारमा रकम बाँडफाँट गरिने व्यवस्था गरिएको छ।
यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बोलपत्रमा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ। भुक्तानी मितिमा साँवा र ब्याज सम्बन्धित बैंकको खातामा स्वतः जम्मा गरिने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकले सङ्कलित निक्षेप रकमलाई सम्बन्धित बैंकको लगानी पोर्टफोलियोमा गणना गर्न नपाइने स्पष्ट पारेको छ। तर, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपात (Liquidity Ratio) गणनामा भने समावेश गर्न सकिनेछ।
राष्ट्र बैंकले भुक्तानी मितिअघि उक्त निक्षेप रकम फिर्ता लिन वा प्रि–म्याच्योर भुक्तानी गर्न नपाइने व्यवस्था पनि गरेको छ।
बजारमा अधिक तरलता देखिएको अवस्थामा नेपाल राष्ट्र बैंकले समय–समयमा यस्ता निक्षेप सङ्कलन उपकरणमार्फत अतिरिक्त रकम बजारबाट तानेर मौद्रिक व्यवस्थापन गर्दै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्