काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो पाक्षिक बम्पर विजेताको घोषणा गरेको छ।
अर्थ मन्त्रालयका अनुसार पहिलो बम्पर विजेता कञ्चनपुरको पुनर्बास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गर्ने ग्राहक बनेका छन्। उक्त ग्राहकले २५० रुपैयाँको सामान खरिद गरेको आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।
आन्तरिक राजस्व विभागका अनुसार विजेता ग्राहकले साउन ७ गते शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेका थिए। हाल विजेताको औपचारिक पहिचान गर्ने प्रक्रिया जारी रहेको विभागले जनाएको छ।
सरकारले उपभोक्तालाई बिल लिने बानीको विकास, डिजिटल तथा औपचारिक कारोबारलाई प्रोत्साहन र कर प्रणालीलाई पारदर्शी बनाउनेउद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमअन्तर्गत १०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गरी बिल लिने वा वित्तीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ता स्वतः उपहार योजनामा सहभागी हुन्छन्।
यस योजनाअनुसार:
- हरेक दिन एक जना विजेताले १ लाख ३३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
- हरेक १५ दिनमा (पाक्षिक) एक जना बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसरी महिनामा दुई जना बम्पर विजेता छनोट गरिने व्यवस्था छ।
सरकारले उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन र डिजिटल भुक्तानीलाई प्राथमिकता दिन आग्रह गर्दै यस्तो कार्यक्रमले करको दायरा विस्तार, कारोबारको अभिलेखीकरण र औपचारिक अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्