काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पुँजीबजार सुधार तथा आधुनिकीकरणका लागि ‘नेपालको प्राथमिक पुँजीबजार विकाससम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ।
बोर्डका अनुसार श्वेतपत्रको मुख्य उद्देश्य नेपालको विद्यमान प्राथमिक पुँजीबजारको समग्र अवस्था मूल्यांकन गर्दै संरचनागत समस्या पहिचान गर्नु र आवश्यक सुधारका लागि स्पष्ट मार्गचित्र तयार गर्नु हो।
श्वेतपत्रमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको आवश्यकता र बजारको अवस्थाअनुसार उपयुक्त सुधार मोडेल प्रस्ताव गरिएको उल्लेख गरिएको छ। साथै, सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीलाई थप बजारमुखी, पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा लगानीकर्ता संरक्षणलाई थप सुदृढ गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ।
धितोपत्र बोर्डले श्वेतपत्रमार्फत आगामी सुधारका लागि कानुनी तथा नियामकीय आधार तयार गर्ने, नियामक निकायको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा प्राथमिक पुँजीबजारलाई डिजिटल प्रविधिमैत्री बनाउने रणनीति अघि सारेको छ।
श्वेतपत्रका प्रमुख उद्देश्यहरूमा:
- प्राथमिक पुँजीबजारको समग्र मूल्यांकन,
- संरचनागत समस्या र सुधार आवश्यक क्षेत्रको पहिचान,
- अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन,
- नेपालको सन्दर्भअनुकूल सुधार मोडेल प्रस्ताव,
- सार्वजनिक निष्कासन प्रणालीलाई बजारमा आधारित बनाउने,
- लगानीकर्ता संरक्षण सुदृढ गर्ने,
- कानुनी तथा नियामकीय सुधारका आधार तयार गर्ने,
- संस्थागत क्षमता अभिवृद्धिको मार्गचित्र प्रस्तुत गर्ने,
- डिजिटल प्राथमिक पुँजीबजारको विकास प्रवर्द्धन गर्ने,
- तथा दीर्घकालीन पुँजीबजार विकासमा योगदान पुर्याउने विषय समावेश छन्।
धितोपत्र बोर्डले श्वेतपत्रलाई नेपालको पुँजीबजारलाई थप पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउने दीर्घकालीन सुधार योजनाको आधार दस्तावेजका रूपमा अघि बढाइने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्