खुद नाफा ३९.८७ करोड, निष्क्रिय कर्जा १.८७ प्रतिशतमा झर्यो; अटो फाइनान्सिङ विस्तारले व्यवसायमा बलियो वृद्धि
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा उल्लेखनीय वित्तीय सुधार हासिल गरेको छ। कम्पनीले यस अवधिमा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढी हो।
कम्पनीका अनुसार नाफामा भएको उल्लेखनीय वृद्धिसँगै इन्स्टा फाइनान्स तथा सवारीसाधन वित्तीयकरण (अटो फाइनान्सिङ) क्षेत्रमा आफ्नो बजारस्थिति थप सुदृढ भएको छ।
कर्जा लगानी ५२ प्रतिशतले बढेर १२ अर्ब २२ करोड
आर्थिक वर्षभर कम्पनीले कर्जा विस्तारलाई आक्रामक रूपमा अघि बढाएको छ। कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि हुँदै १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। विशेषगरी अटोमोबाइल फाइनान्सिङ क्षेत्रमा बढेको मागले कर्जा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको कम्पनीले जनाएको छ।
त्यसैगरी, कम्पनीले सम्पत्तिको गुणस्तर सुधारमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ। निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्षको ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशत मा झरेको छ। कम्पनीले यसलाई प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा मूल्यांकन र असुली प्रणालीको परिणामका रूपमा व्याख्या गरेको छ।
सम्पत्ति र स्वपुँजीमा उल्लेखनीय वृद्धि
हुलास फिनसर्भको समग्र वित्तीय आधार पनि थप बलियो बनेको छ।
- कुल सम्पत्ति ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
- कुल स्वपुँजी (इक्विटी) १ अर्ब ४९ करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीको शुद्ध ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष २२ करोड १० लाख रुपैयाँ रहेको शुद्ध ब्याज आम्दानी बढेर ४८ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ, जुन दोब्बरभन्दा बढी वृद्धि हो।
त्यस्तै सञ्चालन नाफा पनि ३३ करोड ५२ लाख ८० हजार रुपैयाँबाट बढेर ६१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
वित्तीय सूचकहरूमा सुधार
कम्पनीका प्रमुख वित्तीय सूचकहरूमा पनि उल्लेखनीय सुधार देखिएको छ।
- वार्षिकीकृत स्वपुँजी प्रतिफल (ROE) १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ।
- वार्षिकीकृत आधारभूत प्रतिशेयर आम्दानी (EPS) २६ रुपैयाँ ४ पैसा बाट बढेर ४८ रुपैयाँ ४ पैसा पुगेको छ।
- कोषको लागत (Cost of Funds) ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशत मा झरेको छ।
- ब्याजदर अन्तर (Interest Spread) १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ।
- कर्जा नोक्सानी व्यवस्थापन प्रावधान (Provision Coverage Ratio) ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।
चुनौतीबीच पनि बलियो प्रदर्शन
कम्पनीका एक प्रतिनिधिका अनुसार निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त हुनु, वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसँग सम्बन्धित चुनौती कायम रहनु तथा समग्र आर्थिक गतिविधि अपेक्षाअनुसार नबढे पनि व्यवसाय विस्तार, सञ्चालन दक्षता, प्रभावकारी जोखिम व्यवस्थापन र कर्जा असुली रणनीतिका कारण कम्पनीले उल्लेखनीय वित्तीय उपलब्धि हासिल गर्न सफल भएको हो।
दिगो विस्तारमा जोड
हुलास फिनसर्भले आगामी दिनमा कर्जा पोर्टफोलियोलाई दिगो रूपमा विस्तार गर्ने, सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीतिलाई निरन्तरता दिने जनाएको छ।
कम्पनीले दीर्घकालीन रूपमा शेयरधनी, ग्राहक तथा अन्य सरोकारवालाको हितलाई केन्द्रमा राख्दै वित्तीय सेवा विस्तार र संस्थागत मूल्य अभिवृद्धिमा केन्द्रित रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्