काठमाडौं । प्रशान्त महासागरमा ‘एल निनो’ (El Niño) प्रणाली क्रमशः बलियो बन्दै गए पनि नेपालमा यसको तत्काल प्रभाव नगन्य रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन पूर्ण रूपमा सक्रिय रहेकाले हाल देशभर पर्याप्त वर्षा भइरहेको र एल निनोका सम्भावित असर तत्काल देखिने अवस्था नरहेको विभागको निष्कर्ष छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार असारदेखि हालसम्मको मनसुनी वर्षा सन्तोषजनक रहेको छ। उनका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले बङ्गालको खाडी र अरेबियन सागरबाट आउने जलवाष्पयुक्त मनसुनी वायु अझै सक्रिय अवस्थामा छ।
“न्यूनचापीय प्रणाली बलियो भएकाले नेपालमा केही दिन अझै मनसुनी वर्षा सक्रिय रहने सम्भावना छ,” दाहालले बताए।
सामान्यतया प्रशान्त महासागरमा विकसित हुने एल निनोले विश्वव्यापी मौसम प्रणालीमा असर पार्ने गर्छ। यसले कतै खडेरी त कतै अत्यधिक वर्षा गराउन सक्छ। तर नेपालमा यस वर्ष मनसुनी वायुको प्रभाव बलियो रहेकाले एल निनोको असर तत्काल न्यून देखिएको मौसमविद्हरूको विश्लेषण छ।
विशेषगरी अरेबियन सागर र बङ्गालको खाडीबाट लगातार जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले एल निनोको प्रभाव दबिएको अनुमान गरिएको छ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिमदेखि पूर्वी नेपालसम्म मनसुन सक्रिय छ भने धेरै स्थानमा अझै पनि मध्यमदेखि भारी वर्षा भइरहेको छ।
हिउँदयाममा बढ्न सक्छ प्रभाव
यद्यपि मौसमविद्हरूले एल निनोको जोखिम टरेको निष्कर्ष निकाल्न भने नमिल्ने बताएका छन्। मनसुन सकिएपछि अर्थात् हिउँदयाम सुरु भएसँगै यसको प्रभाव नेपालमा पनि देखिन सक्ने सम्भावना रहेको विभागको भनाइ छ।
विशेषगरी हिउँदयाममा वर्षा कम हुने, तापक्रम असामान्य हुने तथा कृषि क्षेत्रमा असर पर्ने सम्भावनाप्रति मौसमविद्हरूले सतर्क रहन आग्रह गरेका छन्।
विश्वभर बढ्दै एल निनोको प्रभाव
विश्व मौसम विज्ञान संगठन (WMO) र अमेरिकाको क्लाइमेट प्रेडिक्सन सेन्टर (CPC) ले भने एल निनो विश्वव्यापी रूपमा तीव्र बन्दै गएको जनाएको छ।
क्लाइमेट प्रेडिक्सन सेन्टरका अनुसार हाल मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम औसतभन्दा माथि पुगेको छ। यही अवस्थाले एल निनो प्रणालीलाई थप बलियो बनाइरहेको छ।
सेन्टरले सन् २०२६ को अन्त्यसम्म एल निनो अझ सशक्त हुने र २०२७ को वसन्त ऋतुसम्म यसको प्रभाव कायम रहने ९७ प्रतिशत सम्भावना रहेको जनाएको छ।
विश्व मौसम विज्ञान संगठनका अनुसार आगामी अगस्टदेखि अक्टोबरसम्म एल निनो विश्व जलवायु प्रणालीको प्रमुख कारक बन्नेछ। यस अवधिमा विश्वका अधिकांश भूभागमा औसतभन्दा बढी तापक्रम रहने तथा वर्षाको ढाँचामा उल्लेखनीय परिवर्तन आउने सम्भावना औँल्याइएको छ।
विशेषगरी कृषि, जलस्रोत, खाद्य सुरक्षा र विपद् व्यवस्थापनका क्षेत्रमा एल निनोको प्रभाव गम्भीर हुन सक्ने भएकाले विभिन्न देशहरूले पूर्वतयारी गर्नुपर्ने आवश्यकता संगठनले औँल्याएको छ।
हालका लागि नेपालमा मनसुन अनुकूल अवस्थामा रहे पनि मौसमविद्हरूका अनुसार एल निनोको विश्वव्यापी प्रभावलाई बेवास्ता गर्न मिल्दैन। मनसुन समाप्तिपछि हिउँदयाममा वर्षाको मात्रा, तापक्रम र कृषि उत्पादनमा यसको असर देखिन सक्ने भएकाले मौसमको बदलिँदो अवस्थामाथि निरन्तर निगरानी आवश्यक रहेको विभागले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्