काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले आन्तरिक राजस्व विभागद्वारा सञ्चालन गरिएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा आफ्ना प्रयोगकर्तालाई सहभागी गराउने भएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको कार्यक्रममा खल्तीका प्रयोगकर्ताले दैनिक तथा बम्पर नगद उपहार जित्न सक्नेछन्।
खल्तीका अनुसार एपमार्फत रु. १०० वा सोभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः उक्त कार्यक्रममा सहभागी हुनेछन्। सहभागी हुन प्रयोगकर्ताले कुनै अतिरिक्त दर्ता वा आवेदन दिनुपर्ने छैन।
कार्यक्रमअन्तर्गत हरेक दिन एक जना विजेताले कर कट्टीपछिको १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ।
खल्तीले जनाएको अनुसार योग्य डिजिटल कारोबारको विवरण स्वतः आन्तरिक राजस्व विभागको सुरक्षित प्रणालीमा पठाइनेछ। त्यसपछि सम्बन्धित प्रयोगकर्ताका लागि उपहार कुपन स्वचालित रूपमा सिर्जना हुनेछ, जसलाई प्रयोगकर्ताले खल्ती एपमै हेर्न सक्नेछन्।
विजेता छनोटको प्रक्रिया पनि पूर्ण रूपमा स्वचालित हुनेछ। आन्तरिक राजस्व विभागले प्रत्येक महिनाको १ र १६ गते कम्प्युटर प्रणालीमार्फत विजेता छनोट गर्ने जनाएको छ।
विजेतालाई मोबाइल फोन र इमेलमार्फत जानकारी गराइनेछ। साथै, खल्तीमार्फत सहभागी भएका विजेतालाई कम्पनीले आफ्ना आधिकारिक माध्यमबाट पनि सूचित गर्ने जनाएको छ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै कर प्रणालीमा पारदर्शिता र औपचारिक कारोबारको दायरा विस्तार गर्ने सरकारी अभियानमा निजी डिजिटल वालेटको सहभागितासँगै उपभोक्ताले दैनिक कारोबारबाटै नगद उपहार जित्ने अवसर पाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्