स्याङ्जा । दक्षिणी स्याङ्जाको चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट–गल्याङ सडक निर्माण सुरु भएको ३१ वर्ष पुगिसक्दा पनि स्थानीयको सडकको दुःख हटेको छैन।
चापाकोटलाई सिद्धार्थ राजमार्गसँग जोडेर व्यापार, पर्यटन तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले २०५२ सालमा निर्माण सुरु गरिएको यो सडक अहिलेसम्म पूर्ण रूपमा कालोपत्रे हुन सकेको छैन।
कुनै समय यही सडक हुँदै चापाकोटबाट बुटवलसम्म आठ वटा मिनीबस र गल्याङसम्म १५ वटा बोलेरो जिप नियमित सञ्चालन हुन्थे। अहिले भने सडकको अवस्था बिग्रँदै जाँदा सार्वजनिक यातायात नै दुर्लभ बनेको छ।
२७ किलोमिटरमध्ये ११.८ किलोमिटरमा सास्ती
चापाकोट दामाचौरदेखि गल्याङसम्मको सडक करिब २७ किलोमिटर छ। त्यसमध्ये करिब ११.८ किलोमिटर सडक अहिले प्रयोग गर्नै कठिनअवस्थामा पुगेको स्थानीय बताउँछन्।
स्थानीय नरेन्द्र अर्यालका अनुसार अहिले सडकमा एक–दुई वटा मात्र सार्वजनिक सवारीसाधन चल्छन्।
‘मान्छे नभए गाडी चल्दैन। रिजर्भ गरेर मात्रै यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने।
उनका अनुसार जिल्लाका धेरै पुराना तथा नयाँ सडक कालोपत्रे भइसके पनि चापाकोट–गल्याङ सडकका स्थानीयले भने वर्षामा हिलो र हिउँदमा धुलोको समस्या भोगिरहेका छन्।
सडकको अवस्था कमजोर हुँदा मनहरी, बेलचौर, आपचौर, ढाडेखोला, सम्पास र प्याउनासलगायत बस्तीका बासिन्दालाई बजार पुग्न र दैनिक आवतजावत गर्नसमेत कठिन भएको छ।
गण्डकी प्रदेश सरकारले २०८० चैतमा ११.८ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो। बारिचौरदेखि तेउनास–केराघारीसम्मको सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने जिम्मा अमर कन्स्ट्रक्सनले पाएको थियो।
यसका लागि ४२ करोड ४२ लाख ९४ हजार ६७९ रुपैयाँ १६ पैसामा ठेक्का सम्झौता भएको थियो।
तर सम्झौताको अवधि सकिँदासमेत निर्माण कार्य पूर्ण हुन सकेको छैन। स्थानीयका अनुसार सडकको काम करिब आधा मात्रै सम्पन्न भएको छ। भौतिक पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख गुरुदत्त अधिकारीले निर्माण सामग्रीको अभावका कारण काममा ढिलाइ भएको बताए।
उनका अनुसार सडकको करिब छ किलोमिटर सब–बेस तथा अन्य क्षेत्रमा नाला निर्माणको काम सम्पन्न भएको छ। तर निर्माणको समयसीमा सकिँदा पनि सडक पूर्ण रूपमा सञ्चालनयोग्य बन्न नसक्दा स्थानीयले पुरानै समस्या भोगिरहेका छन्।
बुटवलदेखि राजधानीसम्मको ‘लाइफलाइन’
चापाकोट–गल्याङ सडक स्थानीयका लागि मात्रै महत्वपूर्ण छैन। यो सडकले गल्याङ हुँदै बुटवल तथा तनहुँको दुलेगौंडा हुँदै काठमाडौंसम्म पुग्ने मार्गसँग जोडिने वैकल्पिक पहुँचसमेत प्रदान गर्छ।
सडक स्तरोन्नति नहुँदा स्थानीय अहिले कालीगण्डकी करिडोर हुँदै लामो र झन्झटिलो यात्रा गर्न बाध्य छन्।
सडक छोटो र सहज भए पनि जीर्ण अवस्थाका कारण यात्रु तथा मालवाहक सवारीले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको हो। यसको प्रत्यक्ष असर स्थानीय उत्पादनको बजार पहुँचमा समेत परेको छ।
चापाकोट र आसपासका क्षेत्रमा कृषि उत्पादन, पर्यटन तथा साना व्यवसायको सम्भावना भए पनि भरपर्दो सडक पूर्वाधारको अभावले त्यसको पूर्ण लाभ लिन नसकिएको स्थानीयको गुनासो छ।
सडक कालोपत्रे भए कृषिजन्य उत्पादन बजारसम्म पुर्याउने लागत घट्ने, यात्राको समय कम हुने र नयाँ व्यवसाय तथा पर्यटन गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। तर तीन दशकभन्दा बढी समयदेखि सडक निर्माणको कथा दोहोरिरहँदा स्थानीयमा विकास योजनाप्रति निराशा बढेको छ।
म्याद थपिँदै, समस्या उस्तै
स्थानीयका अनुसार सडक निर्माणमा ढिलाइ हुनुको कारण केवल निर्माण कम्पनीमा सीमित छैन।
निर्माण सामग्रीको सहज उपलब्धता नहुनु, निर्माण कम्पनीलाई प्रभावकारी रूपमा काम गराउन नसक्नु र पटक–पटक म्याद थपिँदा पनि काम सम्पन्न नहुनु समस्याका प्रमुख कारण बनेका छन्।
वर्षौँदेखि बजेट र योजना आउने तर सडक पूर्ण रूपमा निर्माण नहुने प्रवृत्तिले स्थानीयलाई निराश बनाएको छ।
तीन दशकको प्रश्न : अब कहिले बन्छ सडक?
२०५२ सालमा विकासको आशा बोकेर निर्माण सुरु भएको चापाकोट–गल्याङ सडकले तीन दशक पार गरिसकेको छ। बीचमा यातायातको स्वरूप बदलियो, नयाँ सडक बने, धेरै पुराना सडक कालोपत्रे भए। तर यो सडक भने अझै हिलो, धुलो र अधुरो निर्माणकै चक्रमा छ। अब स्थानीयको प्रश्न सडक बन्ने कि नबन्ने भन्ने होइन—३१ वर्षको प्रतीक्षापछि पनि बाँकी रहेको सडक कहिले पूर्ण रूपमा कालोपत्रे भएर नियमित यातायात सञ्चालनमा आउँछ?
सडक समयमै सम्पन्न भए हजारौँ स्थानीयको आवागमन सहज हुने मात्र होइन, चापाकोटको कृषि, व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिले समेत नयाँ गति पाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्