पश्चिम नवलपरासी । तीनतर्फ भारत र एकतर्फ उर्लंदो नारायणी नदी । संवेदनशील भौगोलिक अवस्थिति रहेको सुस्तामा यतिबेला नदीको कटान तीव्र भएपछि स्थानीयवासी बस्ती र खेतीयोग्य जमिन जोगाउन संघर्षरत छन् ।
मनसुनसँगै हरेक वर्ष नारायणी नदीले सुस्ताको जमिन कटान गर्दै आएको छ । यसपटक पनि नदीको बहाव बस्तीतर्फ सोझिन थालेपछि स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् ।
कटान भइरहेको क्षेत्रमा बालुवा भरिएका बोरा, तारजाली अर्थात् गेबियन तथा रुखका हाँगाबिँगा प्रयोग गरेर नदीको बहाव रोक्ने प्रयास भइरहेको छ । स्थानीयवासी श्रमदानमार्फत सुरक्षाकर्मीसँगै नदी नियन्त्रणको काममा खटिएका छन् ।
सुस्तावासीका अनुसार हरेक वर्ष सयौँ बिघा खेतीयोग्य जमिन नारायणी नदीमा विलीन हुँदै आएको छ । दीर्घकालीन समाधानका लागि पक्की तटबन्ध निर्माणको ठेक्का प्रक्रिया अघि बढे पनि सीमापारबाट आएको अवरोधका कारण काम अघि बढ्न नसकेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताएका छन् ।
नदी कटानको अवस्था बुझ्न सङ्घीय सांसद विक्रम खनाल, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहित जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले सुस्ताको स्थलगत निरीक्षणसमेत गरेको छ ।
निरीक्षणका क्रममा स्थानीयवासीले तत्काल अस्थायी नियन्त्रणका साथै मनसुन सकिएपछि कूटनीतिक पहलमार्फत भए पनि पक्की तटबन्ध निर्माण गर्न माग गरेका छन् ।
सांसद खनालले आवश्यक स्रोत सुनिश्चितताका लागि सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग समन्वय भइरहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी नेपालले सम्भावित क्षति रोक्न स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जानकारी दिएका छन् ।
तर हरेक वर्ष बालुवाका बोरा र रुखका हाँगाबिँगाले मात्रै नारायणीको कटान रोक्न सम्भव नहुने भन्दै सुस्तावासीले स्थायी समाधानको माग गरेका छन् । सुस्ताको बस्ती र खेतीयोग्य जमिन जोगाउन पक्की तटबन्ध निर्माणसँगै सीमापार अवरोध हटाउन कूटनीतिक पहल आवश्यक देखिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्