पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तहको संरचना पुनरावलोकनअन्तर्गत घान्द्रुक र सल्यान क्षेत्रमा थप वडा गठन गर्ने प्रस्ताव अघि सारेको छ। पालिकाले सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले यो प्रस्ताव ल्याएको जनाएको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न पालिका तथा वडा संरचना, सीमाना हेरफेर, वर्गीकरण तथा पुनरावलोकनसम्बन्धी सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका थिए। बैठकमा स्थानीय तहको संरचनागत पुनर्संरचना, वडाको सीमांकन र नागरिकलाई सहज सेवा उपलब्ध गराउने विषयमा विस्तृत छलफल भएको थियो।
कार्यपालिकाबाट अनुमोदन भइसकेको प्रस्तावअनुसार साविकको घान्द्रुक गाविसलाई हाल रहेका दुई वडाको सट्टा तीन वडामा विभाजन गर्ने योजना छ। अहिले घान्द्रुक क्षेत्र अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ मा पर्दछ।
त्यस्तै, हाल वडा नम्बर ४ र ५ मा रहेको साविकको सल्यान गाविसलाई पनि तीन वटा वडामा विभाजन गर्ने प्रस्ताव अघि सारिएको छ। यी क्षेत्रको भौगोलिक विकटता, वडा कार्यालयसम्म पुग्न नागरिकले भोग्दै आएको कठिनाइ तथा सेवा प्रवाहमा देखिएको असहजतालाई आधार बनाएर पुनर्संरचनाको आवश्यकता औंल्याइएको गाउँपालिकाको भनाइ छ।
बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले स्थानीय आवश्यकता, भूगोल र जनसंख्याको वितरणलाई आधार बनाएर मात्र संरचना तथा सीमाना निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, यस्तो संवेदनशील विषयमा सबै पक्षबीच सहमति र सर्वसम्मतिबाट निर्णय गर्नुपर्ने धारणा व्यक्त गर्दै आगामी दिनमा थप छलफल र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले हालको प्रस्ताव प्रारम्भिक चरणको मात्रै भएको स्पष्ट पारिन्।
“यो खालि प्रस्ताव मात्रै हो। जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित वडाका नागरिक यसप्रति सकारात्मक हुनुहुन्छ। तर अन्तिम निर्णय स्थानीय तहले मात्रै गर्न सक्दैन। केन्द्रबाट अध्ययन, अनुगमन र निर्णय हुने भएकाले हामीले प्रस्ताव अघि सारेका हौं,” उनले भनिन्।
उनका अनुसार कार्यपालिकाले प्रस्ताव अनुमोदन गरिसकेको छ र अब संघीय सरकारबाट आउने निर्देशिकाअनुसार प्रक्रिया अघि बढाइनेछ।
उपाध्यक्ष अधिकारीले नागरिकलाई वडा कार्यालयसम्म पुग्न कठिनाइ भइरहेको, केही बस्ती हालको वडा संरचनाअनुसार पायक नपर्ने अवस्थामा रहेकाले पुनर्संरचना आवश्यक भएको बताइन्।
“हामी जनप्रतिनिधि नागरिककै सहजताका लागि काम गरिरहेका छौं। भूगोल नमिलेकाले सेवा लिन धेरैलाई समस्या छ। पायक पर्ने ठाउँमा वडा संरचना बनाइनुपर्छ भन्नेमा दुई मत छैन।”
४१७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिका
कास्कीका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४१७.७४ वर्ग किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ २२ हजार ९९ जनसंख्या बसोबास गर्छ। साविकका ढिकुरपोखरी, भदौरेतामागी (१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गाविस मिलेर यो गाउँपालिका गठन भएको हो।
स्थानीयबीच गाउँपालिकाको केन्द्र निर्धारणबारे लामो समयदेखि विवाद रहँदै आएको कारण हालसम्म गाउँपालिकाको स्थायी प्रमुख प्रशासकीय भवनसमेत निर्माण हुन सकेको छैन। वडा पुनर्संरचनाको प्रस्तावले सेवा प्रवाह सुधारसँगै स्थानीय प्रशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्