गुल्मी । चार पटकसम्म निर्माणको म्याद थपिँदा पनि निर्माण सम्पन्न हुन नसकेको गुल्मी अस्पतालको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्थलगत अनुगमन गर्नुभएको छ।
जिल्लाको स्वास्थ्य सेवाको ‘लाइफलाइन’ मानिएको अस्पतालको पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै मन्त्री लम्सालले अब थप ढिलाइ स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
निर्माण व्यवसायीलाई कडा निर्देशन
अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण व्यवसायीलाई बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो।
तोकिएको समयभित्र काम सम्पन्न नगरे कानुनबमोजिम ठेक्का सम्झौता तोडेर नयाँ टेन्डर आह्वान गर्नसमेत सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो।
अस्पतालजस्तो संवेदनशील पूर्वाधार निर्माणमा हुने ढिलाइलाई सामान्य रूपमा लिन नसकिने मन्त्री लम्सालको भनाइ थियो।
तत्काल ब्लड बैंक सञ्चालन गर्न आग्रह
मन्त्री लम्सालले गुल्मी अस्पतालमा ब्लड बैंक तत्काल सञ्चालनमा ल्याउनसमेत निर्देशन दिनुभयो।
मानव जीवनसँग प्रत्यक्ष जोडिएको ब्लड बैंक सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै उहाँले आवश्यक सहयोग सरकारले उपलब्ध गराउने बताउनुभयो।
विशेषगरी आकस्मिक अवस्था, दुर्घटना, प्रसूति तथा शल्यक्रियाका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनका लागि जिल्लामै व्यवस्थित ब्लड बैंक सञ्चालन हुनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।
९२ प्रतिशत भौतिक प्रगति
सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर घनश्याम यादवका अनुसार गुल्मी अस्पतालको भवन निर्माणमा हालसम्म ९२ प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको छ।
तर निर्माण पूर्ण रूपमा सम्पन्न हुन नसक्दा अस्पतालले अपेक्षित रूपमा सेवा विस्तार गर्न सकेको छैन।
२०७८ असार १८ गते स्वच्छन्द/बानियाँ जेभी, हेटौँडा, मकवानपुरसँग निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार भवन निर्माण २०८० असारमै सम्पन्न हुनुपर्ने थियो।
भारत सरकारको सहयोगमा निर्माण
अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार गुल्मी अस्पतालको पूर्वाधार विकास योजना भारत सरकारको पूर्ण आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।
योजना सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पामार्फत कार्यान्वयन भइरहेको छ।
अस्पताल भवन निर्माण सम्पन्न भएपछि जिल्लाका नागरिकले थप व्यवस्थित, आधुनिक तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
सेवा विस्तारमा असर
निर्माण कार्य वर्षौँदेखि लम्बिँदा अस्पतालको सेवा विस्तार तथा निर्माणाधीन पूर्वाधारको उपयोगमा समेत असर परेको छ।
मन्त्री लम्सालले बाँकी निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिँदै तोकिएको समयभित्र काम सम्पन्न नभए ठेक्का सम्झौता तोडेर वैकल्पिक प्रक्रियाबाट निर्माण अघि बढाउने स्पष्ट पार्नुभएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्