काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्नुहुने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खाअन्तर्गत मन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग संवाद गर्न लाग्नुभएको हो।
अर्थमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेपालमा लगानी गरेका २० वटा ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई आमन्त्रण गरिएको छ। छलफल आज मध्याह्न १२ बजेदेखि अर्थ मन्त्रालयको सुवर्ण हलमा हुनेछ।
छलफलमा अर्थमन्त्री वाग्लेले बजेटले उपलब्ध गराएका सुविधा, कम्पनीहरूले भोगिरहेका समस्या, नेपालमा लगानी विस्तारको सम्भावना, रोजगारी सिर्जना तथा नाफा फिर्ता लैजाँदा आवश्यक सरकारी सहजीकरणलगायत विषयमा कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ।
मन्त्री वाग्लेले छलफलमा सहभागीहरूलाई आफ्ना समस्या तथा सुझाव खुलस्त रूपमा राख्न र आवश्यक विवरण लिखित रूपमा समेत पेश गर्न आग्रह गर्नुहुने सचिवालयले जनाएको छ।
यसअघि औद्योगिक घराना र बैंकरसँग छलफल
यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो मात्रामा रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा योगदान पुर्याएका ३३ वटा औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसक्नुभएको छ।
त्यस्तै, उहाँले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि बजेट कार्यान्वयनका विषयमा छलफल गर्नुभएको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्