काठमाडौं । मानव बेचबिखन तथा जबर्जस्ती करणीसम्बन्धी कसुरमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको छ। पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका–५ का मो. ताहिर राईन रहेका छन्।
मानव बेचबिखन तथा जबर्जस्ती करणीसम्बन्धी कसुरपछि फरार रहेका राईनविरुद्ध प्रहरीले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो।
इन्टरपोल शाखा र एनसीबी दोहा, कतारबीचको समन्वयमा राईनलाई कतारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौँ) बाट खटिएको प्रहरी टोलीले राईनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ।
प्रहरीका अनुसार राईनविरुद्ध मानव बेचबिखन तथा जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। रेड नोटिस जारी भएपछि कतार प्रहरीसँग निरन्तर समन्वय गरी उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्