धनकुटा । कोसी प्रदेशको लोकप्रिय पर्यटकीय गन्तव्य भेडेटारमा निर्माण गरिएको स्काइवाक पछिल्लो समय पर्यटकको नयाँ आकर्षण बनेको छ । पारदर्शी सिसामाथिबाट पूर्वी नेपालको प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।
२०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको स्काइवाकमा दुई वर्षको अवधिमा तीन लाख नौ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको संख्या निरन्तर बढ्दै गएपछि स्थानीय पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।
स्काइवाक सञ्चालन समितिका अनुसार विशेषगरी बिदा तथा चाडपर्वका समयमा यहाँ पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको छ । स्काइवाकले भेडेटारको पर्यटन प्रवर्द्धनसँगै धनकुटा जिल्लाको आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्याएको व्यवसायीहरूको भनाइ छ ।
स्काइवाक सञ्चालनपछि स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ ।
पर्यटकलाई नयाँ अनुभवसँगै प्राकृतिक दृश्य अवलोकनको अवसर दिने भएकाले स्काइवाक भेडेटारको प्रमुख पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्