काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो जग निर्माण गर्ने काम गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले सरकार गठन भएको चार महिनाको अवधिमा तत्काल देखिने ठूला काम नभएको जस्तो देखिए पनि दीर्घकालीन आधार तयार गर्ने काम भइरहेको दाबी गरे।
उनले भने, “चार महिनामा तत्काल देखिने काम नगरेको जस्तो लाग्न सक्छ, तर हामी आगामी १५–२० वर्षका लागि बलियो जग खन्ने काम गरिरहेका छौँ।”
लामिछानेले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
उनका अनुसार रास्वपा ‘विकल्प खोज्ने’ शक्तिका रूपमा मात्र नभई आफैँ ‘विकल्प बन्ने’ र ‘निर्विकल्प शक्ति’ बन्ने उद्देश्यका साथ अघि बढिरहेको छ।
रास्वपाका सभापति लामिछानेले युवा सांसद तथा मन्त्रीहरूका लागि पदमा रमाउने समय नभएको बताए। उनीहरूले परिणाममुखी भएर काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो।
युवा नेतृत्वले प्राप्त जिम्मेवारीअनुसार काम गर्न नसके भविष्यमा युवाको राजनीतिक नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्ने उनको चेतावनी थियो।
उनले युवा नेतृत्व असफल भए “अनुभवहीन युवाबाट राजनीति सम्भव छैन” भन्ने नकारात्मक भाष्य निर्माण हुन सक्ने भन्दै युवा सांसद तथा मन्त्रीहरूलाई गम्भीर भएर काम गर्न आग्रह गरे।
लामिछानेले युवाको नेतृत्वलाई सफल बनाउन जिम्मेवारीमा रहेका सबैले नतिजा देखाउने गरी काम गर्नुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्