काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक अनियमितता भएको आरोप लगाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको भनिएको चोरीको घटनासमेत निष्पक्ष रूपमा छानबिन गर्न माग गरेका छन्।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी प्रशासनभित्र देखिएको अनियमितता, खरिद प्रक्रिया र ठेकेदारसँगको सम्बन्धबारे गम्भीर प्रश्न उठाएका हुन्।
उनले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालमार्फत हुने खरिद तथा भुक्तानी प्रक्रियामा पारदर्शिता नभएको दाबी गरे। प्रहरी सेवाबाट अवकाशप्राप्त केही लेखापालहरू नै ठेकेदार बनेर प्रहरी प्रशासनसँग जोडिएको आरोप लगाउँदै उनले यस विषयमा सूक्ष्म अनुसन्धान हुनुपर्ने बताए।
सांसद सुनारले प्रहरी महानिरीक्षकको निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको दाबी गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न माग गरे।
उनले चोरी भएको रकमको स्रोतबारे समेत प्रश्न उठाउँदै घटनामा संलग्न भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएर विशेष ब्यूरोले यातना दिएको आरोप लगाए।
उनले भने, “आईजीपीको घरमा चोरी भएको हो कि होइन? यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ।”
सांसद सुनारले प्रहरीका लागि आवश्यक जुत्ता तथा लाठी (भाटा) खरिदमा समेत अनियमितता भएको दाबी गरे। सार्वजनिक खरिदमा हुने अनियमिततालाई फौजदारी अभियोगका रूपमा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।
उनले छानबिनलाई निष्पक्ष बनाउन वर्तमान गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा निलम्बनमा राखेर अनुसन्धान अघि बढाउनुपर्ने मागसमेत गरे।
संसदीय छानबिन समिति गठन गर्न माग
सुनारले प्रहरी खरिद प्रक्रियालगायतका विषयमा तत्काल संसदीय वा अन्य उपयुक्त छानबिन समिति गठन गर्न सार्वजनिक लेखा समितिका सभापतिसँग आग्रह गरे।
आफूले १८ वर्षदेखि सुरक्षा बिटमा पत्रकारिता गरेको अनुभव सुनाउँदै उनले प्रहरी अधिकारी र ठेकेदारबीचको सम्बन्धबारे अनुसन्धान गर्न उनीहरूको कल डिटेल तथा मोबाइलसम्बन्धी विवरणसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए।
भ्रष्टाचारका ठूला घटनालाई सामसुम पार्ने प्रवृत्ति अन्त्य गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने उनको भनाइ थियो।
प्रहरी र सशस्त्रमा सामान खरिदमा ढिलाइप्रति ठगुन्नाको आपत्ति
यसै बैठकमा नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा भइरहेको ढिलाइप्रति आपत्ति जनाए।
उनले सुरक्षा निकायमा कार्यरत जवानहरूले समयमै पोसाक र जुत्तासमेत पाउन नसक्नु गम्भीर विषय भएको बताए।
उनका अनुसार खरिद प्रक्रियामा देखिएका कानुनी तथा प्राविधिक जटिलताका कारण तल्लो तहमा कार्यरत सुरक्षाकर्मीहरू प्रभावित भइरहेका छन्।
स्पेसिफिकेसनमा स्वार्थको आशंका
ठगुन्नाले निश्चित समूह वा आपूर्तिकर्तालाई लक्षित गरेर खरिदको स्पेसिफिकेसन तयार पारिएको भन्ने गुनासोप्रति समेत समितिको ध्यानाकर्षण गराए।
यदि निश्चित स्वार्थ पूरा गर्न नियम तथा प्रक्रिया मिचिएको पाइए दोषीमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ।
उनले भने, “टेण्डर प्रक्रिया लामो समयदेखि मुद्दामै अल्झिएका कारण फिल्डमा खटिने जवानहरूले सामान पाउन सकेका छैनन्।”
सामान्य सुरक्षाकर्मीले प्रयोग गर्ने कपडा र जुत्ता खरिद गर्न वर्षौँ लाग्ने अवस्था अन्त्य गर्नुपर्ने भन्दै उनले लामो समयसम्म विषयलाई अल्झाउनुको सट्टा छानबिन समिति बनाएर वास्तविकता पत्ता लगाउनुपर्ने बताए।
गल्ती भएको भए कारबाहीको सिफारिस गर्न र आरोप मात्र भएको भए त्यसलाई स्पष्ट पारेर निकास दिनुपर्ने उनको भनाइ थियो।
ठगुन्नाले विगतका खातामा रकम स्थानान्तरण गरिएको विषयमा समेत छानबिन गर्नुपर्ने माग गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्