काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए ।
बैठकमा युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका सदस्यसचिव तथा परिषद्का सदस्यहरूको सहभागिता थियो । बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक मापदण्ड तथा निर्देशिकासमेत पारित गरेको छ ।
त्यस्तै, जापानमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा खेलाडी र अफिसियल गरी २१८ जनाको सहभागितालाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।
पहिलोपटक पारा राष्ट्रिय खेलकुद
बैठकले नेपालमा पहिलोपटक प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता आगामी पुस १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।
खेलकुद क्षेत्रको प्रशासनिक सुधारतर्फ कर्मचारी व्यवस्थापन, आन्तरिक स्रोतको विनियोजन तथा चालु आर्थिक वर्षको बजेट प्रमाणीकरणलगायत विषयमा पनि बैठकले निर्णय गरेको छ ।
एन्फा विवादमा निकास खोजिने
बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवाद तथा निलम्बनको विषयमा पनि छलफल भएको थियो ।
एन्फाको अवस्थाबारे बैठकमा जानकारी लिँदै समस्याको निकासका लागि सरकार र परिषद्को तर्फबाट समन्वय भइरहेको जनाइएको छ । समस्याको उचित समाधानका लागि निकट भविष्यमै पहल अघि बढाउने बैठकमा जानकारी दिइएको थियो ।
बैठकले खेलकुद क्षेत्रमा देखिएका विभिन्न समस्या तथा चुनौती पहिचान गरी समाधानका लागि आवश्यक कार्ययोजना बनाउने निर्णयसमेत गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्