काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पार्टी फेरि एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार कांग्रेस संस्थापनइतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लेखकले कांग्रेस मानसिक रूपमा विभाजित र संगठनात्मक रूपमा खण्डित हुने अवस्थामा पुगेको बताए।
“कांग्रेस एकताबद्ध भएर देशका समस्या सम्बोधन गर्नुपर्ने अवस्था छ, कांग्रेस मानसिक रूपले विभाजित र संगठनात्मक रूपमा खण्डित हुन सक्ने डिलमा छ,” लेखकले भने, “देउवाको स्वदेश आगमनले कांग्रेस एकता गर्ने स्थिति बन्न सकोस्। त्यसकारण शेरबहादुर देउवा दाइको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नुपर्छ।”
विशेष महाधिवेशनले विभाजन निम्त्यायो
लेखकले विशेष महाधिवेशनका कारण कांग्रेस विभाजनको अवस्थामा पुगेको दाबी गरे। विशेष र नियमित कार्यसमितिबीच समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
“देउवाको अगुवाइमा एकताबद्ध हुनेछ, त्रुटि सच्याऔँ। विशेष र नियमित कार्यसमितिलाई मिलाएर अघि बढौँ,” उनले भने।
उनले विशेष महाधिवेशन रोक्न नसक्नुमा पार्टीभित्र कतै कमजोरी र कतै धोका भएको टिप्पणी गरे।
नेतृत्व परिवर्तनको वैधानिक बाटो
लेखकका अनुसार नेतृत्व परिवर्तन वा हस्तान्तरण आवश्यक भएको भए पनि त्यसका लागि वैधानिक प्रक्रिया अपनाउनुपर्ने थियो।
देउवा वैधानिक रूपमा सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगिसकेको र राजनीतिक रूपमा समेत आफू प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेको उनले बताए।
‘बलजफ्ती विशेष महाधिवेशन गरियो’
लेखकले १५औँ महाधिवेशनबाट स्वाभाविक रूपमा नयाँ नेतृत्व आउने प्रक्रियालाई हतारमा विशेष महाधिवेशनमार्फत अघि बढाउँदा समस्या सिर्जना भएको बताए।
“आवधिक रुपले अवधि पुगेर प्राकृतिक रुपले सन्तान जन्मिने अवस्था हुँदै गरेको आमालाई बलजफ्ती शल्यक्रिया गरेर चाँडै सन्तान प्राप्त गर्ने नाममा जुन ढंगले विशेष महाधिवेशन भयो, त्यसले दुवैतिर समस्या पैदा गर्यो।”
उनले स्वाभाविक प्रक्रियालाई छाडेर हतारमा गरिएको निर्णयले पार्टीको संगठन र नेतृत्व दुवैलाई असर गर्ने बताए।
“स्वाभाविक जन्मलाई हतार गरेर अस्वाभाविक जन्मको रुपमा लिएर गयौँ भने सन्तान पनि सशक्त हुन सक्दैन। आमाको शरीरलाई पनि प्रतिकूल असर पार्छ। अहिले भएको त्यही हो,” लेखकले भने।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्