पोखरा । नेपाली भाषाको प्रयोगमा देखिने त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने तथा लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्नुभयो। उहाँले गण्डकीबाट सुरु भएको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाइको स्रोत बन्न सक्ने बताउनुभयो।
मुख्यमन्त्री पाण्डेले आगामी दिनमा अभियानलाई ‘शुद्ध बोल्छ नेपाल, शुद्ध लेख्छ नेपाल’ नाम दिएर देशव्यापी बनाउन सकिने बताउँदै गण्डकीका ११ वटै जिल्लाका गाउँ तथा शैक्षिक संस्थासम्म अभियान पुर्याउनुपर्नेमा जोड दिनुभयो।
नेपालीसँगै अन्तर्राष्ट्रिय भाषामा पनि दक्षता आवश्यक
नेपाली भाषामा अन्तर्राष्ट्रिय भाषाको प्रभाव बढ्दै गएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई नकारात्मक रूपमा मात्र हेर्न नहुने बताउनुभयो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल जनशक्ति उत्पादन गर्न विदेशी भाषाको ज्ञान आवश्यक भए पनि आफ्नो मातृभाषा र नेपाली भाषा शुद्ध रूपमा बोल्न तथा लेख्न सक्ने जनशक्ति निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
१० जिल्लामा विस्तार गरिने
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले नेपाली भाषाको प्रयोगमा देखिएका त्रुटि पहिचान गरी सुधारका उपायबारे नागरिकलाई सचेत गराउन अभियान सुरु गरिएको बताउनुभयो।
अभियानको सुरुआत कास्कीबाट गरिएको र क्रमशः गण्डकीका बाँकी १० जिल्लामा विस्तार गरिने उहाँले जानकारी दिनुभयो। त्यसपछि अभियानलाई स्थानीय तहसम्म पुर्याउने तयारी रहेको उहाँको भनाइ छ।
‘भाषामा भएका त्रुटि औँल्याउने मात्र होइन, ती त्रुटि कसरी सुधार गर्न सकिन्छ भन्ने उपाय पनि नागरिकलाई जानकारी गराउनु अभियानको उद्देश्य हो,’ न्यौपानेले भन्नुभयो।
भाषिक त्रुटि सुधारमा जोड
अभियान शुभारम्भका अवसरमा ‘नेपाली भाषामा हुने गरेका त्रुटि र निराकरणका उपायहरू’ विषयमा गोष्ठीसमेत आयोजना गरिएको थियो। गोष्ठीमा डा. प्रेमप्रसाद चौलागाईंले नेपाली भाषाको प्रयोगमा हुने विभिन्न त्रुटि, त्यसका कारण र सुधारका उपायबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।
भाषामा हुने त्रुटि व्यक्ति वा कुनै निश्चित क्षेत्रबाट मात्र नभई विभिन्न निकाय तथा सार्वजनिक प्रयोगका माध्यमबाट समेत हुने भएकाले भाषाको सही प्रयोगका लागि सबै पक्ष सचेत हुनुपर्ने उहाँले बताउनुभयो।
अभियानलाई नेपाली भाषासँगै मातृभाषाको संरक्षण, संवर्द्धन र शुद्ध प्रयोगसँग पनि जोडिने जनाइएको छ। विद्यालय, सरकारी कार्यालय, सञ्चारमाध्यम तथा सार्वजनिक जीवनमा नेपाली भाषाको शुद्ध प्रयोग बढाउन अभियानले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्