काठमाडौं । साहित्यिक पत्रकार संघले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा साहित्य, कला, इतिहास तथा अभिनय क्षेत्रका पाँच जना विशिष्ट साधकलाई सम्मान गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित समारोहमा अग्रज चित्रकार तथा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले मदन चित्रकार, प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, ज्ञान उदास, चैत्य देवी र सन्तोष पन्तलाई ‘सापस विशिष्ट सर्जक सम्मान’ प्रदान गरे।
सम्मानितमध्ये मदन चित्रकारलाई चित्रकलातर्फ, प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई इतिहास तथा संस्कृतितर्फ, ज्ञान उदासलाई काव्यतर्फ तथा चैत्य देवी र सन्तोष पन्तलाई अभिनय क्षेत्रतर्फको योगदानका लागि सम्मान गरिएको हो। सन्तोष पन्तलाई हास्य अभिनय क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गरिएको संघले जनाएको छ।
यसै अवसरमा संघले ‘व्यथित काव्य डायस्पोरा सम्मान’ कवि दीपा राई पुनलाई प्रदान गरेको छ। उक्त सम्मान यसअघि नै घोषणा गरिए पनि राई विदेशमा रहेकाले नेपाल आएको अवसर पारेर प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रमले साहित्य तथा सिर्जनाका विभिन्न विधामा योगदान पुर्याएका स्रष्टालाई सम्मान गर्दै नेपाली कला–साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदान र परिचय प्रस्तुत गरेका थिए भने राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य तथा संघको गतिविधिबारे प्रकाश पारे।
समारोहमा सम्मानित तथा पुरस्कृत स्रष्टाहरूका साथै प्रा.डा. सुरेन्द्र केसी, मदनदास श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, पद्मावती सिंहलगायतले मन्तव्य राखेका थिए।
संघको ५५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले साहित्य, कला र अभिनयका विभिन्न विधामा लामो समयदेखि योगदान दिँदै आएका सर्जकहरूको योगदानको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई सिर्जनात्मक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्