काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला आफूले प्रजातन्त्रको पक्षमा अडान लिएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आफ्नै समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले तत्कालीन राजासँग आफूले सरकारको आदेश मान्न तयार भए पनि प्रजातन्त्रविरुद्ध जान नसक्ने स्पष्ट रूपमा बताएको स्मरण गरे।
“पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ। मैले भनेकै हो– सरकारको हुकुम मान्न तयार छु, म प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ भनेकै हो। त्यसपछि मलाई जेल हाल्यो,” देउवाले भने।
उनले आफूलाई त्यसबेला न्यायालयले न्याय दिएको स्मरण गर्दै अहिले पनि अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताए।
“त्यतिबेला मलाई न्यायालयले जिताएको हो। मलाई न्यायालयप्रति अटुट विश्वास छ। अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ,” उनले भने।
कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिक नेतृत्वसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला देउवाले न्यायालयप्रतिको आफ्नो विश्वास दोहोर्याएका हुन्। उनले अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गर्दै पार्टीको वर्तमान विवाद पनि कानुनी प्रक्रियाबाट टुंगिने संकेत गरे।
देउवाले गणतन्त्र स्थापनाको प्रसङ्गमा तत्कालीन राजाको भूमिकाबारे समेत टिप्पणी गरे। “गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ,” उनले भने।
देउवाको अभिव्यक्तिले एकातर्फ उनको लामो लोकतान्त्रिक राजनीतिक संघर्ष र तत्कालीन राजतन्त्रसँगको टकरावलाई स्मरण गराएको छ भने अर्कोतर्फ कांग्रेसको वर्तमान नेतृत्व विवादमा न्यायपालिकामाथिको उनको भरोसा र राजनीतिक वैधानिकताको प्रश्नलाई पुनः केन्द्रमा ल्याएको छ।
देउवाको मुख्य सन्देश
- मुलुकको वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील रहेको उनको भनाइ।
- कांग्रेसका नेता–कार्यकर्ताले राष्ट्रिय एकता कायम गर्न सजग भएर भूमिका खेल्नुपर्ने।
- समाजमा बढेको निराशालाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने।
- तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा आफूले प्रजातन्त्रविरुद्ध सम्झौता नगरेको दाबी।
- विगतमा न्यायालयबाट न्याय पाएको र अहिले पनि सर्वोच्चबाट न्याय पाउनेमा विश्वास।
- गणतन्त्र स्थापनामा तत्कालीन राजाको भूमिकासमेत रहेको देउवाको टिप्पणी।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्