काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा ८ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो।
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। गत आर्थिक वर्षमा यो रकम बढेर ८ अर्ब ६८ करोड ४६ लाख पुगेको हो। यसअनुसार एक वर्षमा कम्पनीको खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको छ।
करअघिको मुनाफा पनि बढ्यो
कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो।
यसअनुसार करअघिको मुनाफा ३४.६६ प्रतिशतले वृद्धि भएको नेपाल टेलिकमले जनाएको छ।
सञ्चालन आम्दानीमा सामान्य वृद्धि
नेपाल टेलिकमको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। यो १०.७३ प्रतिशतको वृद्धि हो।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आय गत आर्थिक वर्षमा ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो।
यसअनुसार सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशतले बढेको हो।
सेवा विस्तारमा जोड
नेपाल टेलिकमले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार तथा दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ। कम्पनीले यी क्षेत्रमा केन्द्रित हुँदै सेवा र व्यवसायमा थप सुधार गर्ने लक्ष्य लिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्