बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरिए पनि नियमित रेखदेख र संरक्षण नहुँदा ताल क्षेत्र अहिले झाडी र बुट्यानले ढाकिन थालेको स्थानीयवासीले बताएका छन्।
तालको सौन्दर्य बढाउन नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेका रेलिङसमेत ठाउँ–ठाउँमा भत्किएका छन्। ताल क्षेत्रको संरक्षण र पूर्वाधारको सुरक्षाका लागि पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ।
कान्तिताल विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत भएकाले वातावरण संरक्षणमा सक्रिय व्यक्तिहरूले यसको संरक्षणमा विशेष ध्यान दिन माग गर्दै आएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाले कान्तिताल संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि करिब १० करोड रुपैयाँ खर्च गरेको थियो। तर नियमित सरसफाइ, सुरक्षा र व्यवस्थापनको अभावमा ठूलो लगानीबाट तयार गरिएको संरचना जीर्ण बन्दै गएको स्थानीयवासी बताउँछन्।
ताल क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको जमघट हुने गरेको र रातको समयमा शंकास्पद गतिविधि बढेको स्थानीयको आरोप छ। यसले पर्यटकीय क्षेत्रको सुरक्षा र आकर्षण दुवैमा असर परेको उनीहरूको भनाइ छ।
करोडौँको लगानी संरक्षणविहीन
तालको नियमित रेखदेख र सरसफाइ नहुँदा करोडौँ रुपैयाँ खर्च भएको आयोजना अपेक्षित रूपमा सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ।
नेपालगञ्ज उपमहानगरपालिकाले विसं २०७५ मा कान्तिताललाई व्यवस्थित गर्दै पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि सारेको थियो। ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने गरी फनबहादुर गुरुङले ठेक्का लिएका छन्।
ठेकेदार गुरुङले ताल क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरूको गतिविधिका कारण रेलिङलगायत संरचना तोडफोड भएको हुन सक्ने बताए।
स्थानीयवासीका अनुसार तालको नियमित सरसफाइ, सुरक्षा व्यवस्था, संरचनाको मर्मत तथा पर्यटकका लागि आवश्यक सुविधाको व्यवस्थापनमा ध्यान नदिँदा कान्तितालको आकर्षण क्रमशः घट्दै गएको छ।
नयाँ योजना बनाउँदै उपमहानगर
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई पुनः व्यवस्थित बनाउन नयाँ योजना निर्माणको तयारी भइरहेको बताए।
विगतमा ताल संरक्षणका लागि बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै रिजालले सम्बन्धित सबै निकायका प्रतिनिधिसँग छलफल गरेर दीर्घकालीन र प्रभावकारी योजना तयार गरी कार्यान्वयन गर्ने बताए।
कान्तितालमा गरिएको ठूलो सार्वजनिक लगानीलाई संरक्षण गर्दै पर्यटकीय सम्भावनालाई पुनः उपयोगमा ल्याउन तत्काल सरसफाइ, सुरक्षा, पूर्वाधार मर्मत र नियमित व्यवस्थापन आवश्यक देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्