राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको ताल अहिले झाडी र बुट्यानले भरिँदा कुरुप बन्दै गएको हो।
तालको सौन्दर्य र सुरक्षाका लागि निर्माण गरिएको रेलिङसमेत भत्किएको स्थानीयवासीले बताएका छन्। स्थानीय चक्र बुढाका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरेको संरचना संरक्षणको अभावमा बिग्रिएको छ।
“सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएको छ। सुरक्षाका लागि सरोकार भएका निकायलाई पटकपटक जानकारी गराउँदा पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,” बुढाले भने।
कान्तिताल विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानसमेत रहेको बताइएको छ। संरक्षणकर्मी तथा वातावरण संरक्षणमा चासो राख्नेहरूले तालको संरक्षणका लागि आवाज उठाउँदै आए पनि सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ।
१० करोड खर्च, संरक्षणमा चुनौती
नेपालगञ्ज उपमहानगरपालिकाले कान्तिताललाई पर्यटकीयस्थलका रूपमा विकास गर्न करिब १० करोड रुपैयाँ खर्च गरेको थियो। तर नियमित रेखदेख तथा सरसफाइको अभावमा अहिले ताल जीर्ण अवस्थामा पुगेको स्थानीयवासी बताउँछन्।
ताल क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको जमघट हुने गरेको र रातको समयमा शङ्कास्पद गतिविधि हुने गरेको स्थानीयको गुनासो छ।
उपमहानगरपालिकाले २०७५ सालमा कान्तिताललाई व्यवस्थित गरी पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो। ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ राजस्व बुझाउने गरी ठेक्का लिएका फनबहादुर गुरुङले रेलिङ लागुऔषध प्रयोगकर्ताले तोडफोड गरेको हुनसक्ने बताए। उनले यसबारे वास्तविकता खोजी गरिने बताए।
नयाँ योजना बनाउँदै उपमहानगर
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कान्तिताललाई व्यवस्थित गर्न नयाँ योजना बनाइरहेको जानकारी दिए।
विगतमा ताल संरक्षणका लागि बनाइएका योजना प्रभावकारी हुन नसकेको भन्दै उनले सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेर नयाँ र प्रभावकारी योजना तयार गरी कार्यान्वयन गरिने बताए।
करोडौँ रुपैयाँ लगानी भएको कान्तितालको संरक्षण, सरसफाइ र सुरक्षा प्रभावकारी बनाउन नसके आयोजना नै अनुत्पादक बन्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्