काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘हुल्लडबाजीमार्फत सत्ता कब्जा गर्ने कुत्सित प्रयास’को संज्ञा दिएका छन्। झापामा आयोजित पार्टी जिल्ला भेला तथा ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले उक्त आन्दोलनले देशलाई संकटतर्फ धकेलेको दाबी गरे।
ओलीले आन्दोलनका क्रममा देशमा भएको क्षतिलाई उल्लेख गर्दै त्यसलाई निर्वाचनमार्फत वैधता दिने प्रयास गरिएको आरोप लगाए। उनका अनुसार आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई फागुन २१ गतेको निर्वाचनमार्फत नयाँ राजनीतिक आधार दिने काम भएको हो।
प्रतिनिधिसभा पुनःस्थापनाको मागमा अन्य राजनीतिक दलहरूले एमालेमाथि मात्र असर पर्ने ठानेर साथ नदिएको ओलीको भनाइ थियो। निर्वाचनलाई एमालेका लागि ‘खाल्डो’ खन्ने प्रयासका रूपमा प्रयोग गर्न खोजिए पनि त्यसमा अन्य दलहरू नै फसेको उनले दाबी गरे।
ओलीले निर्वाचनका क्रममा एमालेमाथि चौतर्फी आक्रमण र अवरोध भएको आरोप लगाए। सहज रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने तथा हिँडडुल गर्ने वातावरणसमेत नदिइएको उनको भनाइ थियो। निर्वाचनमा पराजय भए पनि त्यसबाट एमालेको राजनीतिक मनोबल कमजोर नभएको उनले स्पष्ट पारे।
“एउटा मोर्चामा हार्दैमा समग्र युद्ध हारिँदैन,” भन्ने धारणा राख्दै ओलीले कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढ्न निर्देशन दिए। उनले एक गोल खाएको अवस्थामा अब १० गोल फर्काउन सकिने भन्दै आगामी राजनीतिक संघर्षका लागि कार्यकर्तालाई तयार रहन आग्रह गरे।
‘प्रतिगमन सच्याउन आन्दोलन आवश्यक’
ओलीले वर्तमान राजनीतिक अवस्थालाई ‘प्रतिगमन’को संज्ञा दिँदै त्यसलाई सच्याउन एमालेले राजनीतिक तथा जनस्तरको अभियानलाई तीव्र बनाउनुपर्ने बताए। राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको रक्षाका लागि पार्टीले आवश्यक परे आन्दोलनको मोर्चासमेत सम्हाल्नुपर्ने उनको भनाइ थियो।
आगामी प्रदेश निर्वाचनलाई लक्षित गर्दै उनले एमालेका नेता–कार्यकर्तालाई संगठन विस्तारमा केन्द्रित हुन निर्देशन दिए। प्रत्येक वडा, टोल, बस्ती र घरघरमा पुगेर जनतासँग संवाद गर्न तथा हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने लक्ष्यका साथ काम गर्न उनले आग्रह गरे।
ओलीले पछिल्लो निर्वाचनमा नागरिक, विशेषगरी महिला मतदाताबाट गलत निर्णय भएको दाबी गर्दै अब पार्टी र जनताका दुवै पक्षका कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए।
‘साम्प्रदायिक विभाजन रोक्नुपर्छ’
ओलीले मधेसी–पहाडी, दलित–गैरदलित, नयाँ–पुराना तथा विभिन्न धर्मका नाममा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै त्यसबाट सचेत रहन आग्रह गरे।
उनका अनुसार देशमा साम्प्रदायिक द्वन्द्व र सामाजिक विभाजन बढाउने प्रयासलाई रोक्नुपर्ने आवश्यकता छ। विभिन्न राजनीतिक तथा सामाजिक विभाजनका बीच पनि एमालेले राष्ट्रिय एकता कायम राख्न भूमिका खेलेको ओलीको दाबी थियो।
राजतन्त्रकालदेखि नै एमालेले राजनीतिक संघर्षका क्रममा जेल, यातना र विभिन्न कठिनाइ सामना गरेको स्मरण गर्दै ओलीले पार्टी आफ्नो सिद्धान्तबाट विचलित नभएको बताए। आगामी दिनमा पनि राष्ट्रिय एकता, विकास र सार्वभौमसत्ताको रक्षालाई पार्टीले प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
विकास निर्माणलाई एमालेको उपलब्धिका रूपमा प्रस्तुत
ओलीले आफ्नो नेतृत्वमा एमाले सरकारमा रहँदा भएका विकास निर्माणका कामलाई पनि प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे। हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा पुष्पलाल राजमार्ग निर्माण र विस्तारमा एमाले नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको उनले दाबी गरे।
ताप्लेजुङ, हुम्लालगायत दुर्गम जिल्लामा सडक विस्तार तथा कालोपत्रे गर्ने कामसमेत आफ्नो नेतृत्वको सरकारका पालामा अघि बढेको ओलीले बताए।
त्यस्तै, २०७२ सालको भूकम्पपछि २८ हजार अस्थायी घर निर्माण गरी पीडितलाई हस्तान्तरण गरिएको तथा करिब १३ हजार विद्यालय पुनर्निर्माणमा योगदान पुर्याइएको उनले स्मरण गरे। कोभिड–१९ महामारीका क्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वयंसेवी रूपमा गरेको कामलाई पनि उनले पार्टीको सामाजिक भूमिकासँग जोडेर प्रस्तुत गरे।
ओलीले आगामी दिनमा पनि पार्टीलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक पराजयलाई अन्तिम परिणामका रूपमा नलिई त्यसबाट शिक्षा लिएर संगठन पुनः सक्रिय बनाउन कार्यकर्तालाई आग्रह गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्