काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय सम्मेलनबाट पारित गरेको धार्मिक तथा राजनीतिक नीतिको भाषाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
मिश्रले कांग्रेस नेताहरूले स्पष्ट रूपमा ‘हिन्दु अधिराज्य’ र संवैधानिक राजसंस्थाको पक्षमा उभिने आँट गर्न नसकेको भन्दै उनीहरूलाई ‘हुतिहारा’को संज्ञा दिएका छन् ।
कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म आयोजना गरेको राष्ट्रिय सम्मेलनबाट ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ प्रतिबद्धता जनाएको थियो । सम्मेलनको निर्णयमा नेपालमा प्रचलित हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण तथा धार्मिक स्वतन्त्रता र सहिष्णुता कायम गर्ने उल्लेख छ ।
यही निर्णयप्रति टिप्पणी गर्दै मिश्रले सामाजिक सञ्जालमार्फत कांग्रेसले ‘सनातन धर्म’ जस्तो अस्पष्ट शब्द प्रयोग गर्नुको सट्टा स्पष्ट रूपमा ‘हिन्दु अधिराज्य’ भन्नुपर्ने बताएका छन् ।
‘सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढाउने भनेको के हो ? … सिधै हिन्दु अधिराज्य भन्ने आँट किन नआएको ?’ मिश्रले प्रश्न गरेका छन् ।
मिश्रले कांग्रेस सम्मेलनले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई उल्लेख गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी तथा राष्ट्रिय शक्तिसँग संवाद गर्ने निर्णय गरेको विषयमा पनि प्रश्न उठाएका छन् ।
उनले कांग्रेसले विगतमा गरिएको राजनीतिक प्रयोग देशको हितमा नदेखिएको निष्कर्षसहित आफ्नो मौलिक नीति ‘संवैधानिक राजसंस्था’मा फर्किने स्पष्ट निर्णय गर्नुपर्ने बताएका छन् ।
मिश्रले कांग्रेस नेताहरूले दोधारे र काइते भाषामा जनतालाई अलमल्याउने काम गरेको आरोप लगाउँदै स्पष्ट राजनीतिक धारणा राख्न चुनौतीसमेत दिएका छन् ।
उनले आफू र आफ्ना सहकर्मीहरूले जस्तै विगतको निर्णय गलत भएको स्वीकार गर्दै दृष्टिकोण परिवर्तन गर्न कांग्रेस नेताहरूलाई आग्रह गरेका छन् । मिश्रले कांग्रेसको पछिल्लो निर्णयलाई ‘ल्याङल्याङे भाषा’ भन्दै महत्वपूर्ण राजनीतिक विषयमा समेत नेताहरूले स्पष्ट धारणा राख्न नसकेको टिप्पणी गरेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्