काठमाडौं । सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइनलाई नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि पनि टोलीमा निरन्तरता दिएको छ।
सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो संस्करणका लागि आफ्नो दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो। यसअघि टोलीले इंग्ल्यान्डका सेफ जैबलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।
कुगेलेइन एनपीएलका अघिल्ला दुवै संस्करणमा सुदूरपश्चिम रोयल्सबाटै खेलेका थिए। पहिलो संस्करणमा उनले १७ विकेट लिएका थिए भने दोस्रो संस्करणमा १० विकेट हात पारेका थिए। लगातार दुई सिजन टोलीका लागि प्रभावशाली प्रदर्शन गरेका कुगेलेइनलाई सुदूरपश्चिमले तेस्रो संस्करणमा पनि विश्वास गरेको हो।
टोलीमा पुनरागमन गर्न पाउँदा कुगेलेइनले खुसी व्यक्त गरेका छन्।
“म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,” उनले भने।
‘पहिलो उपाधि जिताउन महत्वपूर्ण भूमिका हुनेछ’
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनबाट अघिल्ला दुई संस्करणकै स्तरको प्रदर्शनको अपेक्षा गरिएको बताएका छन्।
“उनीबाट यसपटक पनि पहिलो र दोस्रो सिजनको जस्तै प्रदर्शनको अपेक्षा राखेका छौँ। पहिलो उपाधि जिताउन उनको भूमिका महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ,” खड्काले भने।
एनपीएलका अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगे पनि सुदूरपश्चिमले उपाधि जित्न सकेको छैन। तेस्रो संस्करणमा कुगेलेइनजस्ता अनुभवी विदेशी खेलाडीको प्रदर्शनलाई टोलीले महत्वपूर्ण मानिएको छ।
यी खेलाडीलाई पनि निरन्तरता
तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको छ।
त्यस्तै, टोलीले अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ।
विदेशी खेलाडीमा कुगेलेइन र सेफ जैबलाई भित्र्याइसकेको सुदूरपश्चिमले तेस्रो एनपीएलमा सन्तुलित टोली निर्माण गर्दै पहिलोपटक उपाधि जित्ने लक्ष्य लिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्