काठमाडौं । संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित निकायलाई अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न निर्देशन दिएको हो।
कार्यालयले सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय तथा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई परिपत्र गर्दै कर्मचारीले १५ दिन काम गरेपछि अर्धमासिक रूपमा तलब भत्ता उपलब्ध गराउन अनुरोध गरेको छ।
अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार यस्तो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो। उक्त मार्गदर्शनले संघीय सरकारका निकायमा कार्यरत कर्मचारीलाई १५ दिन काम गरेपछि तलब भुक्तानी गर्ने व्यवस्था गरेको थियो।
त्यस्तै, बजेट वक्तव्य २०८३/८४ मा व्यवस्था गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको छ।
सम्बन्धित संघीय सरकारी निकायबाट भुक्तानीका लागि निकासा माग भएमा सोहीअनुसार तत्काल भुक्तानी गर्न पनि परिपत्रमा भनिएको छ।
यस व्यवस्थासँगै संघीय सरकारी कर्मचारीले यसअघि जस्तो महिनाको अन्त्यसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भई हरेक १५ दिनमा तलब पाउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्