नयाँ दिल्ली । दिल्ली सरकारका पूर्वमन्त्री तथा आम आदमी पार्टी (आप) का नेता सत्येन्द्र जैन भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीको भ्रष्टाचार निवारण शाखाले दिल्ली जल बोर्डमा भएको कथित भ्रष्टाचारसम्बन्धी मुद्दामा जैनसहित पूर्वसीईओ र अन्य छ जनालाई पक्राउ गरेको हो।
उनीहरूमाथि ढल प्रशोधन प्लान्ट (एसटीपी) को टेन्डर प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार गरेको आरोप लगाइएको छ। दिल्ली जल बोर्डको टेन्डर प्रक्रियामा भएको भनिएको अनियमिततामाथि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।
आपद्वारा भाजपामाथि आरोप
सत्येन्द्र जैनको गिरफ्तारीपछि आम आदमी पार्टीले भारतीय जनता पार्टी (भाजपा) माथि राजनीतिक प्रतिशोधको आरोप लगाएको छ।
आपका राष्ट्रिय मिडिया इन्चार्ज अनुराग ढांडाले सामाजिक सञ्जाल एक्समार्फत जैनको गिरफ्तारीको विरोध गर्दै भाजपा आम आदमी पार्टीसँग डराएको आरोप लगाएका छन्। उनले ‘भाजपा आम आदमी पार्टीसँग डराएको छ भन्ने कुराको अझै कति प्रमाण चाहिन्छ?’ भन्दै प्रश्न गरेका छन्।
के हो जैनको राजनीतिक पृष्ठभूमि ?
सत्येन्द्र जैन सन् २०१५ देखि २०२३ सम्म दिल्ली सरकारको स्वास्थ्यमन्त्री थिए। उनी तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीमा थिए।
यसअघि पनि जैनमाथि विभिन्न भ्रष्टाचारसम्बन्धी आरोप लागेका थिए। आपले भने ती आरोप निराधार भएको दाबी गर्दै आएको थियो। पछिल्लो गिरफ्तारी दिल्ली जल बोर्डको टेन्डर प्रक्रियामा भएको भनिएको अनियमिततासँग सम्बन्धित रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्