काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडाको ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यो १८औँ संस्करणलाई प्रविधि, स्वदेशी उत्पादन र विद्युतीय मोबिलिटीमा केन्द्रित गरिएको छ।
आयोजकका अनुसार अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। करिब ३ लाख वर्गफिट क्षेत्रमा सञ्चालन हुने प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ।
यसपटकको प्रदर्शनीलाई गाडी प्रदर्शनमा मात्र सीमित नराखी रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई समेत मुख्य आकर्षण बनाइएको छ।
एआई र रोबोटिक्स मुख्य आकर्षण
नाडाका महासचिव मिलन बाबु मल्लका अनुसार अटोमोबाइल उद्योग पेट्रोल–डिजेलबाट विद्युतीय सवारीसाधनतर्फ मात्र नभई एआई, कनेक्टिभिटी र अटोमेसनतर्फ समेत तीव्र रूपमा अघि बढिरहेको छ।
अटो शोमा दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। त्यस्तै, सवारीसाधनमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआई प्रविधिमार्फत सम्बन्धित गाडीको विवरण डिजिटल रूपमा प्राप्त गर्न सकिने व्यवस्था गरिने आयोजकले जनाएको छ।
‘मेड इन नेपाल’लाई विशेष प्राथमिकता
यस वर्ष पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन स्थापना गरिने भएको छ। यसमा नेपालमै उत्पादन वा एसेम्बल भएका मोटरसाइकल, स्कुटर तथा अन्य अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ।
प्याभिलियनमा नेपाली उत्पादनका टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पार्ट्ससमेत राखिनेछ।
नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ। यो क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १ लाख तथा अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसको रोजगारी जोडिएको नाडाको दाबी छ।
ईभी र स्मार्ट मोबिलिटीमा जोड
अटो शोमा विभिन्न ब्रान्डका नयाँ विद्युतीय सवारीसाधन (ईभी) समेत सार्वजनिक गर्ने तयारी गरिएको छ। स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीबारे सिम्पोजियमसमेत आयोजना हुनेछ।
नाडाले ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, दक्ष प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र नीतिगत स्थिरता आवश्यक रहेको जनाएको छ।
२ लाख आगन्तुक आउने अपेक्षा
६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। भीड व्यवस्थापनका लागि नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्कलगायतका क्षेत्रमा पार्किङको व्यवस्था गरिनेछ।
बाह्य पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ। प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्कको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।
आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुने बताइएको छ।
नाडाले यस वर्षको अटो शोमार्फत नयाँ सवारीसाधन प्रदर्शनसँगै नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था, प्रविधिगत परिवर्तन र आगामी दिशाबारे बहस सुरु गर्ने लक्ष्य राखेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्