काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका एक बंगलादेशी नागरिकको पेटबाट पाँच दिनपछि सुनजस्तो देखिने धातु निकालिएको छ।
दुबईबाट काठमाडौं आएका ३५ वर्षीय मोहम्मद रेस हदलदरको पेटभित्र एक्सरे गर्दा उक्त वस्तु भेटिएको विमानस्थलले जनाएको छ। साउन ३१ गते चेकजाँचका क्रममा पक्राउ परेका हदलदरले आफूले १५० ग्राम सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए।
त्यसपछि उनलाई काठमाडौं मेडिकल कलेज, सिनामंगलमा लगेर पेल्भिक एक्सरे गरिएको थियो। एक्सरेमा पेटभित्र सुनजस्तो देखिने धातु अड्किएको पुष्टि भएपछि तत्काल शौच गराउने प्रयास गरिएको थियो।
शौचबाट वस्तु बाहिर ननिसकेपछि कानुनी प्रक्रिया पूरा गरी हदलदरलाई अस्पताल भर्ना गरिएको थियो। पाँच दिनपछि पुनः शौच गराउँदा पेटभित्र रहेको धातु बाहिर निकालिएको विमानस्थलले जनाएको छ।
निकालिएको वस्तु सुनजस्तो देखिए पनि वास्तविक रूपमा सुन नै हो वा अन्य कुनै धातु हो भन्ने यकिन भइसकेको छैन। त्यसको पहिचानका लागि थप परीक्षण भइरहेको बताइएको छ।
हदलदरलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्