काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका लागि आन्तरिक संयन्त्र गठन गर्ने पहल संस्थापनइतर पक्ष अदालत गएसँगै रोकिएको बताएका छन्।
शुक्रबार बाह्रखरीसँगको कुराकानीमा सभापति थापाले विवाद समाधानका लागि नेता शेखर कोइरालाबाट संयन्त्र गठनको प्रस्ताव आएको र आफू त्यसमा सकारात्मक रहेको बताए। उनका अनुसार सबै पक्षको सहभागितामा संयन्त्र बनाएर महाधिवेशनसँग सम्बन्धित माग तथा विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको थियो।
‘पछिल्लोपटक नेता शेखर कोइरालाबाट एउटा प्रस्ताव आएको थियो– संयन्त्र बनाऔँ। त्यसमा सबै साथीहरूको सहभागिता होस्। त्यसले अधिवेशनसँग सम्बन्धित अरू मागका विषय पनि हेरोस् भन्ने प्रस्ताव थियो। त्यसमा म नमान्ने कुरै भएन,’ थापाले भने।
सबै पक्षलाई सहभागी गराएर महाधिवेशन निष्पक्ष बनाउने विषयमा छलफल अघि बढिरहेको अवस्थामा नेताहरू अदालत गएपछि संवादको प्रक्रिया रोकिएको उनको भनाइ छ।
‘पुनरवलोकनको लागि अदालतले अनुमति दिएपछि सायद उहाँहरूलाई अहिले किन छलफल गरिरहने भन्ने लाग्यो होला। असन्तुष्ट साथीहरूले विषय अहिले अदालतमा गएको छ, पहिले अदालतबाटै आओस् अनि कुरा गरौँला भनिरहनुभएको छ,’ थापाले भने।
यद्यपि, अदालतमा विषय विचाराधीन रहे पनि आफूले विभिन्न नेताहरूसँग संवाद भने जारी राखेको सभापति थापाले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्