लन्डन । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ। शुक्रबार राति घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानमा तीन अंक जोडेको हो।
आर्सनलका लागि काई हाभर्टजले १५औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। २३औँ मिनेटमा बुकायो साकाले गोल थपेपछि पहिलो हाफमै आर्सनल २–० ले अघि रह्यो। दोस्रो हाफ सुरु भएको चार मिनेटमै कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै टोलीलाई ३–० को सहज अवस्थामा पुर्याए।
खेलमा आर्सनलले ६६ प्रतिशत बल पोजेसन राख्दै कोभेन्ट्रीलाई दबाबमा राखेको थियो। कोभेन्ट्रीले आर्सनलको गोलपोस्टतर्फ एकपटक मात्र लक्ष्यमा प्रहार गर्न सकेको थियो।
कोभेन्ट्री सिटी २५ वर्षपछि पहिलोपटक प्रिमियर लिगमा फर्किएको हो। तर पुनरागमनको पहिलो खेलमै उसले गत सिजनको च्याम्पियन आर्सनलको सामना गर्नुपरेको थियो।
यस जितसँगै आर्सनलले उपाधि रक्षाको अभियानमा बलियो संकेत दिएको छ। प्रशिक्षक मिकेल आर्टेटाका लागि यो प्रिमियर लिगमा आर्सनलको नेतृत्वमा १५०औँ जितसमेत बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्