गलकोट (बागलुङ) । बादलले ढाकेका हिमाल, फराकिला हरिया पाटन र विभिन्न रंगका फूलले सजिएको चौरी बुकी पछिल्ला वर्षहरूमा बागलुङ पश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्ने र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमावर्ती क्षेत्रमा रहेको यो उच्च हिमाली भूभाग प्राकृतिक सौन्दर्यका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँ बन्न थालेको हो।
हिमालको काखमा फैलिएको विशाल हरियो पाटन, बादलसँग लुकामारी खेल्ने डाँडाकाँडा, रंगीचंगी फूल र चिसो हिमाली हावाले चौरी बुकी पुग्ने जोकोहीलाई आकर्षित गर्छ। प्राकृतिक सौन्दर्यसँगै जैविक विविधता, स्थानीय संस्कृति र हिमशृंखलाको दृश्य यहाँको प्रमुख विशेषता हो।
स्थानीय नरबहादुर घर्तिमगरका अनुसार पछिल्लो समय देशका विभिन्न स्थानबाट चौरी बुकी अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ।
“यहाँ काठमाडौं, पोखरा, दाङलगायत देशका विभिन्न ठाउँबाट पर्यटक आउनुहुन्छ,” उनले भने, “सामाजिक सञ्जाल र मुखैमुखको प्रचारले पनि पछिल्लो समय चौरी बुकी चिनिन थालेको छ।”
चौरी बुकी घुम्न पुगेका ढोरपाटनका हेमेन्द्र घर्तीमगर यहाँको प्राकृतिक दृश्यले आफूलाई निकै आकर्षित गरेको बताउँछन्। उनका अनुसार हरिया डाँडा, विशाल पाटन र भेडाका ठूला बथानले यस क्षेत्रको सुन्दरतालाई थप विशेष बनाएको छ।
“मौसम खुलेका बेला यहाँबाट देखिने हिमालको दृश्य अत्यन्तै मनमोहक हुन्छ,” उनले भने।
वर्षायाममा फूलले ढाकिन्छ पाटन
समुद्री सतहबाट करिब चार हजार एक सय मिटरभन्दा बढी उचाइमा रहेको चौरी बुकी वर्षायाममा विशेष आकर्षक देखिन्छ। वर्षा सुरु भएसँगै पाटनमा विभिन्न प्रजातिका जंगली फूल फुल्न थाल्छन्।
रातो, निलो, पहेँलो, बैजनी र सेता फूलले हरियो पाटन ढाकिँदा चौरी बुकीको दृश्य झनै मनमोहक बन्ने गर्दछ। यही प्राकृतिक दृश्य हेर्न र तस्बिर तथा भिडियो खिच्न पर्यटकहरू यहाँ पुग्ने गरेका छन्।
मौसम सफा भएका बेला चौरी बुकीबाट धौलागिरि, सिस्ने, पुथालगायत हिमशृंखलाको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ।
बुटवलबाट घुम्न आएका आशिष थापाले सामाजिक सञ्जालमा चौरी बुकीको भिडियो देखेपछि यहाँ आउने योजना बनाएको बताए।
“टिकटकमा यो ठाउँ देखेपछि एकपटक आफैं पुगेर हेर्न मन लागेको थियो,” उनले भने, “यहाँ आएपछि सोचेभन्दा पनि धेरै सुन्दर पाएँ।”
पर्यटनसँगै बढ्दै स्थानीय आर्थिक गतिविधि
चौरी बुकीको बढ्दो लोकप्रियताले बागलुङ पश्चिम र पूर्वी रुकुमका स्थानीय बासिन्दाको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्न थालेको छ। पर्यटकको आगमनसँगै होटल, यातायात, घोडचढी तथा स्थानीय व्यापार व्यवसायमा चहलपहल बढेको स्थानीयको भनाइ छ।
चौरीखर्क घुम्न आएका ढोरपाटनका व्यवसायी कृष्ण खनालका अनुसार पर्यटकको बढ्दो आगमनले यस क्षेत्रका विभिन्न व्यवसायलाई प्रत्यक्ष फाइदा पुगेको छ।
“चौरीखर्ककै कारण पश्चिम बागलुङ र रुकुमतिर व्यवसाय पनि बढिरहेको छ,” उनले भने, “यातायात व्यवसायीलाई काम मिलेको छ, होटल तथा स्थानीय व्यापारमा चहलपहल बढेको छ। घोडचढी गराउनेहरूले समेत आम्दानी गरिरहेका छन्।”
प्राकृतिक सौन्दर्यसँगै चौरी बुकी पुग्ने पर्यटकले स्थानीय समुदायको जीवनशैली, संस्कृति र परम्परागत खानाको अनुभवसमेत लिन सक्छन्। यसले ग्रामीण पर्यटनको सम्भावना पनि बढाएको छ।
सडक र फोहोर व्यवस्थापन मुख्य चुनौती
पर्यटकको आकर्षण बढ्दै गए पनि चौरी बुकी क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधारको विकास हुन सकेको छैन। मध्यपहाडी लोकमार्गको पातिहाल्ने क्षेत्रबाट नजिकै रहे पनि सडकको अवस्था अझै सहज छैन।
वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण हुने तथा अन्य समयमा समेत स्तरीय यातायात सुविधा नहुँदा पर्यटकलाई समस्या पर्ने गरेको छ।
त्यस्तै, पर्यटकको संख्या बढेसँगै फोहोर व्यवस्थापन पनि चुनौती बन्दै गएको छ। पदमार्ग र पाटन आसपास प्लास्टिकजन्य फोहोर देखिन थालेको स्थानीयले बताएका छन्। यसले क्षेत्रको प्राकृतिक सौन्दर्य र जैविक विविधतामा असर पर्न सक्ने चिन्ता बढेको छ।
चौरीखर्क घुम्न आएकी भविसरा मगरले पर्यटक तथा स्थानीय सबै फोहोर व्यवस्थापनप्रति जिम्मेवार बन्नुपर्ने बताइन्।
पूर्वाधार विकासमा स्थानीयको जोड
स्थानीयवासीले चौरी बुकीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार र सम्बन्धित निकायले विशेष योजना बनाउनुपर्ने माग गरेका छन्। सडक सुधारसँगै पदमार्ग निर्माण, पर्यटकका लागि सुरक्षित आवास, खानेपानी, शौचालय र फोहोर व्यवस्थापनको उचित व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।
प्राकृतिक रूपमा अत्यन्त सम्भावनायुक्त चौरी बुकीमा योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार विकास गर्न सकिए बागलुङ र पूर्वी रुकुमको सीमावर्ती क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने स्थानीयको विश्वास छ।
बादल, हिमाल, हरिया पाटन र रंगीचंगी फूलको अनुपम संगम रहेको चौरी बुकीलाई संरक्षणसँगै व्यवस्थित रूपमा विकास गर्न सकिए यो क्षेत्र नेपालको आकर्षक उच्च हिमाली पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्