काठमाडौं । जर्मन बुन्डेसलिगा प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई २–१ ले पराजित गर्दै बायर्न म्युनिखले डीएफएल सुपरकपको उपाधि जितेको छ।
शनिबार डर्टमन्डको सिग्नल इडुना पार्कमा भएको खेलमा बायर्नका लागि नथानिएल ब्राउन र माइकल ओलिसेले गोल गरे। घरेलु टोली डर्टमन्डका फाबियो सिल्भाले एक गोल फर्काए।
खेलको २८औँ मिनेटमा ब्राउनले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा ओलिसेले गोल थप्दै बायर्नको अग्रता २–० बनाए।
डर्टमन्डका लागि सिल्भाले ७५औँ मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए। तर त्यसपछि घरेलु टोलीले बराबरी गोल गर्न सकेन।
खेलको इन्जुरी समयमा डर्टमन्डका डिफेन्डर रामी बेन्सेबैनीले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो।
यस जितसँगै बायर्नले लगातार दोस्रो पटक डीएफएल सुपरकपको उपाधि जितेको छ। समग्रमा भने यो बायर्नको १८औँ सुपरकप उपाधि हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्