काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ। शनिबार भएको खेलमा रियालले घरेलु टोली इस्पान्योललाई २–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
आरसीडीई रंगशालामा भएको खेलमा रियालको जितमा जुड बेलिङघम र कार्लोस एस्पीले गोल गरे। घरेलु टोली इस्पान्योलका लागि एलेक्स क्यालाट्राभाले एक गोल फर्काएका थिए।
खेलको नवौँ मिनेटमै बेलिङघमले गोल गर्दै रियाललाई सुरुआती अग्रता दिलाएका थिए। तर, रियालको अग्रता लामो समय टिक्न सकेन। खेलको ३०औँ मिनेटमा क्यालाट्राभाले गोल गर्दै इस्पान्योललाई खेलमा फर्काए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलका लागि दबाब बढाएका थिए। खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा अन्तिम समयमा कार्लोस एस्पीले गोल गर्दै रियाललाई २–१ को रोमाञ्चक जित दिलाए।
यो जितसँगै रियाल मड्रिडले नयाँ ला लिगा सिजनको सुरुआतमै तीन अंक जोडेको छ। घरेलु मैदानमा पराजित इस्पान्योलले भने सिजनको सुरुआती खेलमै अंक गुमाएको छ।
यसैगरी शनिबार सम्पन्न अन्य खेलमा रियाल बेटिसले रियाल सोसिडाडलाई १–० ले पराजित गर्यो। सेभियाले एथलेटिक क्लबमाथि ३–१ को जित निकाल्दा रायो भायकानो र एलेभेसले १–१ गोलको बराबरी खेले।
भ्यालेन्सिया र सेल्टा भिगोबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्