काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर मनसुनी गतिविधि कायम रहने विभागको अनुमान छ।
विभागका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
कोसी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। मधेस तथा कोसी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावनासमेत रहेको छ।
हिमाली क्षेत्रमा वर्षा र हिमपात
राति पनि देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही तथा सुदूरपश्चिमको तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बाढी–पहिरोमा सतर्कता अपनाउन आग्रह
वर्षाका कारण पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा यात्रा गर्दा मौसमसम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्