काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएको छ।
ललितपुर महानगरपालिकाका प्रमुख तथा मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले मंगलबार पत्रकार सम्मेलनमार्फत सांसद तामाङको व्यवहारप्रति आपत्ति जनाउँदै बैठकको मर्यादा कायम गर्नुपर्ने बताएका हुन्।
मेयर महर्जनका अनुसार बैठक संघीय पूर्वाधार विकासमन्त्रीको अध्यक्षतामा बस्ने तय भए पनि मन्त्री बिरामी भएपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बैठक बसेको थियो। बैठक सुरुमा सामान्य रहे पनि सांसद तामाङ आएपछि वातावरण असहज बनेको उनको दाबी छ।
‘हामी बैठकमा बस्यौँ, तर आशिका तामाङ आइसकेपछि बैठकको माहौल बिग्रँदै गयो,’ महर्जनले भने।
उनले सांसद तामाङले बैठकमा मर्यादाविपरीत व्यवहार गरेको आरोप लगाउँदै ‘ताण्डव नृत्य’को संज्ञा दिए। अध्यक्षता गरिरहेका मन्त्री तिमिल्सिनालाई समेत असहज भएको भन्दै महर्जनले बैठकमा उनको व्यवहार रोक्ने प्रयास भए पनि सफल नभएको बताए।
‘उहाँको बोलिचाली हाम्रो निम्ति पनि असह्य थियो। त्यसैले जवाफ दिने प्रयास गर्यौँ, तर उहाँमा सुन्ने धैर्यता थिएन,’ महर्जनले भने।
बैठकको मर्यादा कायम गर्न आग्रह
महर्जनले सांसद तामाङले यसअघि पनि विभिन्न बैठकमा यस्तै शैली प्रस्तुत गर्ने गरेको आफूले महसुस गरेको बताए। बैठकमा असहमति र आलोचना स्वाभाविक भए पनि छलफल शिष्ट र मर्यादित हुनुपर्ने उनको भनाइ छ।
मेयर फोरमले फोहोर व्यवस्थापनजस्तो साझा सरोकारको विषयमा हुने छलफललाई विवादित बनाउनेभन्दा सबै पक्षबीच संयमित र जिम्मेवार संवाद आवश्यक रहेको जनाएको छ।
महर्जनले बैठकको अध्यक्षता गरेका मन्त्री तिमिल्सिना पनि सांसद तामाङको व्यवहार भइरहँदा प्रभावकारी रूपमा हस्तक्षेप नगरी मूकदर्शक बनेको टिप्पणी गरे। बैठकमा सहभागी सबैले संयम र शिष्टता कायम गर्नुपर्ने उनको आग्रह छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्