काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारलाई समर्थन गरेको आरोपमा आफ्ना तीन प्रदेशसभा सदस्यसँग पुनः स्पष्टीकरण माग गरेको छ।
पार्टीले सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेलवासे र भण्डारीलाल अहिरलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएको हो।
जसपा नेपालले यसअघि पनि उनीहरूसँग स्पष्टीकरण मागेको थियो। तर, सांसदहरूले दिएको जवाफ सन्तोषजनक नभएको भन्दै पार्टीले पुनः स्पष्टीकरण सोधेको जनाएको छ।
पार्टीको निर्णय तथा निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारलाई समर्थन गरेको विषयमा उनीहरूमाथि अनुशासनात्मक कारबाहीको तयारी भइरहेको बताइएको छ। पार्टीले पत्रमार्फत तीनै सांसदसँग ‘तपाईंहरूमाथि अनुशासनात्मक कारबाही किन नगर्ने?’ भन्दै जवाफ मागेको छ।
२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएसँगै तीन सांसदको जवाफका आधारमा जसपा नेपालले आगामी कदम चाल्ने देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्