रसुवा । रसुवामा बुधबार बिहान आएको भीषण बाढीले टिमुरेसहित दुईवटा बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। लेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले बजार, रसुवा भन्सार क्षेत्र, सवारीसाधन तथा अन्य संरचना बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बाढीबाट भएको क्षतिबारे गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार टिमुरे र नजिकैको अर्को बजार बाढीले पूर्ण रूपमा बगाएको छ।
‘दुईवटा बजार पूर्ण रूपमा तहसनहस भएका छन्। टिमुरे र त्यसको नजिकै रहेको अर्को एउटा बजार बाढीले पूरै बगाएको छ,’ अधिकारीले भने।
उनका अनुसार रसुवा भन्सार क्षेत्रमा रहेका धेरै सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीमा बगेका छन्। बाढीले बजार क्षेत्रसँगै भन्सार कार्यालयमा समेत ठूलो क्षति पुगेको छ।
नयाँ बनेको पुल पनि बगायो
गत वर्षको बाढीबाट क्षतिग्रस्त भएपछि हालै निर्माण सम्पन्न गरिएको नयाँ पुलसमेत यसपटकको बाढीले बगाएको अधिकारीले बताए।
बाढीको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको छ। प्रारम्भिक विवरणअनुसार रसुवा नाकामा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्