काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट उत्पन्न विपद्को अवस्थामा उद्धार तथा राहत कार्यमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखी संयमित तथा जिम्मेवार रूपमा परिचालित हुन आग्रह गरेका हुन् ।
उनले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सबै सदस्यलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी स्वयंसेवी उद्धार तथा राहत कार्यमा सहभागी हुन आह्वान गरेका छन् ।
लामिछानेले विपद्को समयमा सबैको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग हुनुपर्ने बताएका छन् ।
जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह
लामिछानेले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । साथै, स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनलाई पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन् ।
उनले संवेदनशील अवस्थामा सामाजिक सञ्जालमार्फत अप्रमाणित सूचना तथा अफवाह नफैलाउनसमेत सबैलाई सचेत गराएका छन् ।
गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने भन्दै उनले सूचना सम्प्रेषण गर्दा जिम्मेवार र संयमित बन्न आग्रह गरेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्