काठमाडौं । रसुवा जिल्लामा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित ८८ जनालाई नेपाली सेनाले हवाई मार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ।
भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न नदी तटीय क्षेत्रमा जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही बस्ती, सडक तथा सवारीसाधनसमेत प्रभावित भएका छन्।
नेपाली सेनाले उद्धार तथा खोजी कार्यका लागि आधा दर्जनभन्दा बढी हेलिकोप्टर परिचालन गरेको जनाएको छ। सडक तथा स्थलमार्गबाट तत्काल पुग्न कठिन भएका प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन गरिएको हो।
सेनाका अनुसार जोखिममा रहेका तथा तत्काल उद्धार आवश्यक भएका ८८ जनालाई हवाई मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेको जनाइएको छ।
बाढीको कारणबारे थप अनुसन्धान हुँदै
यसअघि सरकारले प्रारम्भिक सूचनाका आधारमा बिहान आएको भूकम्पपछि उच्च हिमाली क्षेत्रमा हिमपहिरो जाँदा बाढी आएको हुनसक्ने जनाएको छ। यद्यपि, बाढीको वास्तविक कारणबारे प्राविधिक अध्ययन र थप पुष्टि हुन बाँकी छ।
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रभाव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म पुगेपछि सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। प्रभावित क्षेत्रका नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई प्राथमिकता दिइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्