काठमाडौं । भोटेकोसीमा आएको भीषण बाढीमा परी हालसम्म ९ जनाको मृत्यु भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार प्रतिनिधिसभाको बैठकमा हालसम्म ९ जनाको शव फेला परेको र उनीहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिएका छन् ।
मन्त्री खनालका अनुसार बाढीपछि प्रहरीतर्फका २६ जना प्रहरी सम्पर्कविहीन छन् । त्यस्तै, सशस्त्र प्रहरी बलका ९ जना पनि अझै सम्पर्कमा आएका छैनन् ।
नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत गरी ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको जानकारी दिइएको छ । यससँगै विभिन्न सुरक्षा निकायका गरी ४४ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको बताइएको छ ।
त्यस्तै, रसुवागढी भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका केही कर्मचारी पनि सम्पर्कबाहिर रहेको मन्त्री खनालले जानकारी दिए । प्रभावित क्षेत्रमा अन्य नागरिकसमेत सम्पर्कविहीन रहेको बताइएको छ ।
सरकारी तथा निजी संरचनामा ठूलो क्षति
बाढीले सरकारी तथा निजी भवनलगायत विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्याएको मन्त्री खनालले बताए ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको उनले जानकारी दिए ।
सम्पर्कविहीन सुरक्षाकर्मी तथा नागरिकको खोजीलाई प्राथमिकतामा राखेर सुरक्षा निकायका टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्